
अम्विका दाहाल-
घटना १
श्रीमानले कान्छि श्रीमति ल्याएर बसेको तीन वर्ष भयो । मसँग तीनजना छोराछोरी छन । ७५ बर्ष नाघेका ससुराको रेखदेख पनि मेरै जिम्मामा छ । श्रीमानले म र मेरा छोराछोरीलाई वोलाउनु हुन्न, लालनपालन र पढाईखर्च हेर्नु त परै जावस । हामीसँग एक गरो वारी छ त्यसैमा मेरो सानो घर छ । आधा भागमा श्रीमानले घर बनाएर कान्छि लिएर बस्नुभएको छ । केहि समय एउटा लघुबित्तमा काम पनि गरें तर त्यहाँबाट आएको कमाईले मेरो घरपरिवार धान्न र छोराछोरिको पढाइ खर्च धान्न पुगेन । त्यहि भएर अब बिदेश जाने मनसाय मा छु (बाम्राङकी सबिता)
घटना २
मेरा दुई छोरा छन । श्रीमानले अर्को बिबाह गरि सम्पर्कबिहिन भए । पछि श्रीमानलाई धेरै खोजि गर्दा काठमाडौमा बस्दै आएको थाहा पाएँ । मैले श्रीमान र सौता दुवैलाई ल्याएर घरमा राखें । श्रीमानको खुसिका लागि सौतालाई घरमा ल्याएर भित्र्याएँ । तर पनि म र मेरा छोराछोरीले उहाँको माया पाउन सकेनौं । श्रीमान फेरी पनि कान्छि श्रीमती लिएर घर छोडेर जानुभयो । श्रीमानले नहेरे पनि मेरो छोरा मेरो साथमा छन भन्दै आफ्ने मन बलियो बनाउँदै जीवन गुजाराका लागि गाउँमै किराना पसल सञ्चालन गरें । गाउँमा उधारो नदिउँ नचल्ने, दिउँ त उठाउनै गाह्रो । झन उल्टै ऋणमा परेंं । त्यहि भएर अब बिदेश जानलाई पासपोर्ट वनाउँदैछु । (जालपाकी सजना राई)
घटना ३
मेरो श्रीमान वैदेशिक रोजागारका लागि बिदेशिएको सात वर्ष भयो । उहाँले बेला बेलामा फोन सम्पर्क त गर्नुहुन्छ तर घरखर्च भने पठाउनुहुन्न । उहाँ विदेश जाँदाको ऋण समेत तिरेको छैन । पटक पटक साहुको गालि खानुपर्छ । त्यसैले बाध्य भएर म विदेश जान लागेकी हुँ । अरु कुनै विकल्प नै भएन(बतासेकी मनमाया)
यी तीनवटा प्रतिनिधि उदाहरणले किन महिला बैदेशिक रोजगारमा गइरहेका छन् भन्ने एउटा तस्वीर छर्लङ्ग बनाउँछ । भनिन्छ महिला र पुरुष एक सिक्काका दुई पाटा हुन । तर स्वभाबिक रुपमै महिलाले अलि बढि जिम्मेवारी बहन गर्नुपरिरहेको यथार्थ हो । जस्तोसुकै आपत्ति आइलागोस तर घरपरिवार छोराछोरी प्रतिको जिम्मेवारी महिलाको काँधमा आइपर्छ । यसको मतलव पुरुषमा त्यो जिम्मेवारी पटक्कै हुँदै हुन्न भन्न खोजिएको होइन । तर घरब्यवहार र छोराछोरीको रेखदेखमा तुलनात्मक रुपमा बढि महिलामा बढी जिम्मेवारी देखिन्छ ।
हुन त बैदेशिक रोजगारमा जाने बहुसंख्यक पुरुष नै हुन्छन् । महिलाको संख्या पनि यसमा नभएको होइन । तर महिला वैदेशिक रोजगारमा जाने भन्ने बित्तिकै नाक खुम्च्याउनेहरु देखी लिएर वैदेशिक रोजगारी भनेको के हो भनेर थाहै नपाएकासम्म पनि बिदेश जान्छु भनेर आँट कस्नेहरुको जमात बढिरहेको छ ।
हुन त मान्छेका ईच्छा र चाहनाहरु ब्यक्ती पिच्छे फरक फरक हुन्छन । तर पनि वर्षेनी वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि भइरहेको छ । केहि महिला दिदीबहिनीहरु रहरले बैदेशिक रोजगारमा जाने भएतापनि बाध्यताले वैदेशिक रोजगारमा जाने महिलाको संख्या धेरै छ ।
खोटाङको परिवेशमा कुरा गर्नु पर्दा साउदी अरव, कतार, मलेसिया जान्छु भन्ने मनसायले पासपोर्ट बनाउने धेरै महिलाहरुका पिडा मिल्दा जुल्दा छन् । घरब्यवहार चलाउन, बालबच्चाको पढाई साथै पालनपोषणको जिम्मेवारी काँधमा आइपरेका, ऋणको वोझ लामो समयदेखि वोक्नुपरेको जस्ता समस्या भएका महिलाहरु नेपालमा बिकल्प नदेखेर बिदेशिइरहेका छन ।
मुख्य रुपमा बैदेशिक रोजगारमा जान बाध्य महिलाका साझा गुनासो यस्ता देखिन्छन्ः
- श्रीमानले दोस्रो विवाह गरि आफ्नो र बालबच्चाका रेखदेख गरेनन,
- वैदेशिक रोजगारीमा गएका श्रीमान लामो समयदेखि सम्पर्कबिहिन छन आफु जाँदाको ऋण सम्म तिरेनन , निरन्तर साहुको कचकच सहनु पर्यो,
- वैदेशिक रोजगारीमा गएका श्रीमान उतै विवाह गरि वसे नेपाल फर्किएनन, अफ्नो जग्गा जमिनको उव्जनीले खान पुग्दैन,
- श्रीमानको मृत्यु भयो छोराछोरी बिरामी हुँदा उपचार गराउने पैसा छैन,
- पारिवारिक वेमेल वा घरेलु हिंसा छ,
- वुवाआमा बृद्ध छन भाइबहिनी सानै, परिवारिक जिम्मेवारी र भाइबहिनीको लालन पालन पढाउने आफ्ने काँधमा छ
उसैपनि हाम्रो समाजमा वैदेशिक रोजगारीमा जाने वा गएर आएका महिलालाई राम्रो नजरले हेरिदैन । महिला विदेश किन गए ,वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता के थियो भन्ने ति महिलाको ठाउँमा उभिएर कसैले सोच्दैन ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि घर व्यवहार धानेर बसेका श्रीमतिहरुका पीडा अर्कै खालका छन् । कतिपय पुरुषले गर्नुपर्ने कामका लागि अन्य पुरुषलाई सहयोग माग्नु पर्नेहुन्छ । यसरी अरुलाई गुहार्दा जसले भनेको मान्छ उसैलाई नै हो भन्न सजिलो हुने । अर्काको मान्छेको एकोहोरो मद्धत मात्र मागिरहन मिल्दैन फेरि आफुले गर्न सक्ने कामका लागि त आफुले पनि सघाउन जानु पर्यो । यसरी नै एकपटकबाट दुईपटक वा तीनपटकसम्म ओहोरदोहोर वा सँगै काम गरेको देखेपछि कुरा काट्न शुरु हुन्छ । बिस्तारै यो कुरा गाउँ टोल हुदै बिदेशमा रहेको श्रीमानसम्म पनि पुग्छ । अनि श्रीमानले यथार्थ के हो भनेर बुझ्नु भन्दा पहिला श्रीमतीलाई मेरो घर छोडेर तुरुन्त हिंडिहाल भन्दै गालि गर्न थाल्छन । यसको मतलव फेरी महिला सवै सहि छन, वैदेशिक रोजगारमा गएका श्रीमानका श्रीमतीले गल्ती नै गर्दैनन् भन्न खोजेको होइन । केहिले त गल्ती पनि गरेका छन । तर सवैले गल्ती गरेका भने कहाँ छन र ? कुराले गर्दा बिग्रिएको परिवार धेरैको छ । हल्लाको भरमा परिवारले नराम्रो मान्ने परिवारले नस्वीकारेका समस्याहरु बढिरहेका छन । यस्तो अवस्थामा महिलालाई निकै गाह्रो हुने भएकाले पनि बाध्य भएर बिदेशिने महिलाहरुको संख्या बढ्दैछ ।
खोटाङको परिवेशमा केहि ब्यक्ती र समाजलाई नियाल्दा वैदेशिक रोजगारीमा जाने महिलाहरु रहरले भन्दा बाध्यताले जानेहरु भेटिए । जापान, कोरिया, अष्टेलिया जानेहरुको कुरा यहाँ पर्दैैन । साउदी अरव, कतार, युएई, कुवेत लगायतका देश जानेहरुका बाध्यता उस्तै छन् । त्यसैले बेदेशिक रोजगारमा जाने महिलाप्रति कर्के नजर लगाउनु अघि उनीहरुको बाध्यतालाई बुझ्नु जरुरी छ ।
(प्रकाशित मितिः २०७५ बैशाख १२)
यो पनि पढ्नुहोस् विदेशबाट स्वदेश फर्केर काम गर्ने हो भनें