म्याग्दी, बैशाख ९-
म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।
रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले सो रकम जुटाएर बेग र बाँदुक गाउँलार्इ जोड्ने आठ किमी सडक निर्माण गरेका हुन् । बेगखोला–देउराली–बेग—बादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी छैन । हिउँद–बर्खा नियमित सवारी चल्ने यस सडकबाट गाउँलेले उत्पादन गरेको कृषि उपजको बजारीकरण, आवतजावतमा सुविधा र पर्यटकलाई समेत फाइदा पुगेको छ ।
मगर समुदायको बसोबास रहेको साबिक बेगखोला गाविसमा सडक मात्र होइन् शिक्षामा पनि प्रवासीको लगानी छ । स्थानीय महादेव माविको शैक्षिक गुणस्तरका लागि बेगखोले प्रवासीले अत्याधुनिक कम्प्युटर कक्ष स्थापना र त्यसको निरन्तरताका लागि रु २३ लाखको अक्षयकोष सञ्चालन गरेका छन् । “दुई वर्षअघि पदमबहादुर पुर्जाको नेतृत्वमा स्थापना भएको कम्प्युटर कक्षमा १४ वटा ल्यापटप, प्रिन्टर र इन्टरनेटको व्यवस्था छ”, विद्यालयका प्रधानाध्यापक घनबहादुर फगामीले भने, “वार्षिक रूपमा आउने ब्याजले कम्प्युटर शिक्षक, मर्मतसम्भार र इन्टरनेटको खर्च व्यवस्थापन हुन्छ ।”
विसं २०२५ मा स्थापना भएको विद्यालयको स्वर्ण जयन्तीका अवसरमा प्रवासीकै अगुवाइमा विद्यालय भवन पुनर्निर्माण अभियान शुरु गरिएको छ । दुई करोड लगानीमा १५ कोठे अत्याधुनिक भवन निर्माण गर्न अभियान शुरु गरिएको एनआरएनए युकेका अध्यक्ष एवं बेगखोले कल्याणकारी समाज युके उपशाखाका अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।