धनगढी— कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् ।
जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई । ‘घर फर्कन पाउँछु भन्ने आशा मरिसकेको थियो । मालिकका घरमा जेलसजाय भुक्तान गरिरहेको कैदीजस्ती भएकी थिए,’ उनी भन्छिन्, ‘अनेक जुक्ति लगाई मालिकलाई फकाएर धन्न घर फर्किन पाएँ ।’
भारतको दम्बोली । हो, त्यही ठाउँमा खरिद–बिक्री भएकी थिइन्, लक्ष्मी । ‘मालिक’ ले त्यही ठाउँबाट उनलाई जहाजमा राखेर आफ्नो देश कुवेत लगे । त्यहाँ करिब दुई वर्ष बन्धकझैं बस्नुपरेको उनले बताइन् ।
उनी मालिकलाई रिझाएर उम्कने जुक्ति लगाइरहेकी थिइन् । एक दिन ‘मालिक–मालिक्नी’ असाध्यै खुसी मुडमा घर फर्किए । ‘मैले घरमा आमा एक्लै र बिरामी अवस्थामा रहेको भन्दै फर्किने इच्छा व्यक्त गरेँ । सोच्दै नसोचेको कुरो भयो । मालिकले हुन्छ भनिदिए,’ उनले सुनाइन् । तर, कुवेत एयरपोर्टबाट जहाजले भुईं नछोडासम्म उनी ढुक्क थिइनन् । मालिकको मुड परिवर्तन होला कि भन्ने आशंका थियो ।
मालिकले उनका हातमा जहाजको टिकट र डेढ वर्षको तलबबापत करिब दुई लाख नेपाली रुपैयाँ थमाइदिएको दियो ।
दम्बोलीमा नेपाली युवतीको खरिदबिक्री नै हुने गरेको उनले बताइन् । ‘त्यहाँको एउटा हलमा मजस्ता धेरै नेपाली दिदीबहिनीहरूलाई दिनभरि बसाइन्थ्यो । विदेशीहरू आउँथे । सबैलाई उभ्याएर छामछुम गरी हेरिन्थ्यो । मन परेकालाई लैजान्थे । मसँगैकी अर्की महिला साउदी अरब गइन्,’ उनी भन्छिन्, ‘नेपाली मात्र नभएर बंगाली र भारतीय महिला पनि त्यहाँ थिए ।’ दम्बोलीमा दुई महिना बसेपछि मालिकको रोजाइमा परेकी थिइन्, लक्ष्मी ।
भारतको बाटो अवैध प्रक्रियाबाट वैदेशिक रोजगारीमा पुगेर कष्ट झेल्ने लक्ष्मी एक्ली होइनन् । पछिल्लो समय अरू थुप्रै चेली भारतीय बाटो भएर खाडी मुलुक पुग्ने गरेका छन् । त्यहाँ सोचेअनुसारको काम नपाएर दुःख मात्र झेल्दैनन्, श्रम तथा शारीरिक शोषणमा समेत पर्ने गरेका छन् ।
गैरकानुनी प्रक्रियाबाट विदेश पुगेर समस्यामा परेका थुप्रै महिलालाई उद्धार गरिरहेको सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले बताए । उनले कैलालीबाट गैरकानुनी तरिकाले विदेश पुगेका महिलाको संख्या ठूलो भएको बताए । कान्तिपुरबाट
यो पनि पढ्नुहोस् विदेशमा बस्ने नेपालीलाई पनि मताधिकार दिन माग
