
काठमाडौं, बैशाख ७-
नेपालीको बैदेशिक रोजगारलाई सुरक्षित बनाउन थप पहल गर्न आवश्यक रहेको सम्वन्धित क्षेत्रमा कार्यरतहरुले जोड दिएका छन् । उनीहरुले यसका लागि राज्यका जिम्मेवार निकायहरु थप संवेदनशील हुनुपर्नेमा जोड दिए ।
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन)ले आयोजना गरेको प्रवासी श्रमिकका विषयमा सरोकारवालाबीच छलफलमा बोल्दै साँसद सञ्जयकुमार गौतमले नेपालमा पद्धती फेरिएपनि प्रबृत्ति अझै नफेरिएको बताए । उनले नयाँ ढंगले सोच्न आवश्यक रहेको भन्दै आफूले बैदेशिक रोजगारमा जाने श्रमिकको अधिकार स्थापित गर्न संसदमा आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाए । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित साँसद गौतमले नेपालले पछिल्ला केहि दशकयता ए क्लासका आफ्ना नागरिकहरु विदेश पठाएर छिमेकी मुलुकबाट सी क्लासका नागरिक भित्रियाएर रोजगारी दिनु परिरहेको धारणा राखे । उनले नेपालले बौद्धिक जनशक्ति र शारिरीक रुपमा कडा श्रम गर्न सक्ने दुवै जनशक्ति विदेश पठाइरहेको भन्दै यसले दिर्घकालिन रुपमा मुलुकको हीत नगर्ने धारणा राखे । रोजगारीको अवसर मुलुकभित्रै सिर्जना भए मात्र समृद्धिको सपना पुरा हुने भन्दै सो अनुरुप काम पनि हुनुपर्ने बताए ।
सो अवसरमा बोल्दै राष्ट्रियसभाकी साँसद धन खतिवडाले बैदेशिक रोजगारमा जानु नराम्रो नभएपनि कामदारको आधारभूत अधिकार सुरक्षित हुनुपर्ने बताइन् । उनले सीपयुक्त जनशक्ति मात्र विदेश पठाउने वातावरण निर्माणका लागि राज्यको ध्यानाकर्षण गर्नुपर्ने धारणा राखिन् । जुन मुलुकमा आफ्नै देशमा रोजगारीको अवसर हुन्छ त्यस्तो मुलुकको मात्र विकास हुन्छ भन्दै साँसद खतिवडाले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने विचार प्रकट गरिन् ।
कार्यक्रममा नेपाल 6«]8 युनियन काँग्रेसका कोषाध्यक्ष योगेन्द्र कुँवरले धेरै नेपाली विदेशमा काम गरिरहेको भन्दै अव युनियनहरुले श्रमिकलाई संगठित गर्ने काम विदेशमा लक्षित गर्नुपर्ने धारणा राखे । उनले बैदेशिक रोजगारमा भएकाहरुलाई जवसम्म मतदानको अधिकार दिईंदैन तवसम्म उनीहरुका समस्या राजनीतिक दलहरुले नसुन्ने भन्दै एनटीयूसीले कार्यथलोबाटै श्रमिकले मतदान गर्न पाउने व्यवस्था गर्न अभियान सञ्चालन गर्ने बताए । बैदेशिक रोजगारमा जानेहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षामा समावेश गर्नुपर्ने भन्दै कुँवरले आन्तरिक बजारमा श्रमिकले मर्यादित काम र उचित ज्याला पाउने वातावरण निर्माणमा सवैको हातेमालो आवश्यक रहेको बताए ।
सो अवसरमा बैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले बैदेशिक रोजगारमा जाने श्रमिकलाई विभिन्न नाममा हुने ठगि रोक्न सामुहिक प्रयासको खाँचो औल्याए । उनले विभागले मेनपावर कम्पनीहरुलाई उनीहरुको शाखा कार्यालय र वैधानिक एजेण्टको विवरण मागिएको भन्दै यसका आधारमा केहि समयभित्रै थप कदम चालिने जानकारी दिए । उनले बैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र गन्तव्य मुलुकका नियोगबीच सचुना आदानप्रदानका लागि सफ्टवेयरको प्रयोग हुन लागेको भन्दै अवको डेढ महिना भित्र त्यो सञ्चालनमा आउने बताए ।
छलफलमा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता रेशमराज रेग्मीले प्रवासी नेपाली श्रमिकले भोग्दै आएका समस्या, विद्यमान कानूनी प्रावधान तथा समाधानका सुझावहरु प्रस्तुत गरेका थिए ।
ट्रेड यूनियनकर्मी सूर्य नेपालले हिजोका दिनमा भन्दा आज समस्या धेरै कम भएको भन्दै बैदेशिक रोजगारमा जानेलाई रोक्न नसकिने भएका कारण तालिमलाई प्राथमिकता दिन आग्रह गरे ।
छलफलमा काउनका अध्यक्ष जेवी गुरुङले काउनले बैदेशिक रोजगारमा जानेहरु, बैदेशिक रोजगारका क्रममा रहेकाहरु तथा बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागि काम गरिरहेको बताए । उनले गाउँदेखि नै ठगिमा पर्ने बैदेशिक रोजगारमा जाने कामदारलाई न्याय दिलाउन सवैको सहयोगको आग्रह गरे । कार्यक्रममा काउनका महासचिव प्रदीप आचार्यले बैदेशिक रोजगारलाई सुरक्षित बनाउन आगामी दिनमा पनि काउनले निरन्तर बहस, छलफल र लविङको काम जारी राख्ने भन्दै यसमा साँसदहरुले कानून निर्माणका काममा सघाउने अपेक्षा प्रकट गरे ।
यो पनि पढ्नुहोस् कतार एयरवेजमा रोजगारी दिलाइदिने नाममा ७ जना युवाको रकम ठगि, पासपोर्ट पनि हरायो