
रमेश वाकु, भक्तपुर-
पहिले म ठेकेदारको पछि लागेर ईलेक्ट्रिसियन र प्लम्वीङको काम गर्ने गर्दथें । तर ठेकेदारले र अरु मिस्त्रीहरुले मलाई कहिल्यै पनि अरु काम सिकाएनन् । उनीहरुले केवल भित्ता फुटाउने काममा मात्र मलाई लगाउँदथे ।
एकदिन एउटा भाइले ईलेक्ट्रिसियनको तालिम खुलेको कुरा सुनाए । उनले तालिम लिंदा मलाई फाइदा हुने भन्दै थप कुरा सोही तालिम केन्द्रमा गएर बुझ्नुस् भने । म त्यो तालिम दिने संस्थामा गएर सवै कुरा बुझें । मलाई चित्त बुझ्यो । तालिम निःशुल्क भएका कारण मलाई सजिलो भयो। मैले नबुझेको धेरै कुरा रहेछ । त्यसैले तीन महिने तालिममा ति कुरा सिकें । ठेकेदारको पछि लागेर गरिरहेको काममा भन्दा धेरै कुरा सो तालिमबाट ज्ञान पाएँ ।
पहिलो लेभलको तालिम पश्चात मैले आफैं केहि काम गर्न थालें । म ईलेक्ट्रीसियनको काममा पोख्त भइसकेको त थिइन तर घरायसी रुपमा चाहिने विजुलीको सवै काम गर्न सक्ने भइसकेको थिएँ । तर मलाई अझै सिक्ने चाहना भनें छँदैथियो । त्यसैले मैले सोही तालिम केन्द्र(पिस प्राविधिक तालिम केन्द्र) मा लेभल टुको तालिम पनि लिएँ । सो लेभलमा चाहिं कसरी आफ्नै व्यवसाय दर्ता गर्ने भन्ने लगायतका कुरा सिकियो ।
२०७२ सालको कुृरा हो । तालिम सकेपछि मलाई धेरै काम आयो । एकातिर मेरो सम्पर्क पनि बढ्दै गयो । सोही तालिमका क्रममा सोही तालिम केन्द्रमा अन्य विषयमा तालिम लिइरहेका साथिहरुले आफ्नो सम्पर्क भएको ठाउँमा ईलेक्ट्रिसियनको काममा मलाई काम सिफारिस गरिदिन थाले । मैले त्यसरी नै अन्य काममा साथिहरुको सिफारिस गरें । फेरी भूकम्प पश्चात निर्माणको काम निक्कै भयो । यसले पनि कामको कुनै खाँचो भएन ।
हाम्रै देशमा, आफ्नै ठाउँमा पनि धेरै रोजगारीका अवसरहरु छन् । तर अहिले हाम्रो देशमा काम गर्ने जनशक्ति नै छैन भने पनि हुन्छ । हामी तीनजना साथिहरु मिलेर एउटा समुह बनाएका छौं । हामी ठेक्कामा काम लिन्छौं । भक्तपुरकै अरु चार जना साथिहरुलाई रोजगारी दिएका छौं । हामी चाहिं काम सकिएपछि हुने नाफा बाँडफाँड गरेर लिन्छौं ।
हामीसँग काम गर्नेहरुले पनि १५–२० हजार हरेक महिना कमाउँछन् । यो त थोरै काम जानेकाहरुको कमाई हो । हाम्रो चाहिं सरदर प्रतिमहिना ३०–३५ हजार कमाई हुन्छ । यो कमाई नराम्रो होइन भन्ने लाग्छ । विदेश जानेहरुले पनि कमाउने त यस्तै हो । अझ म त आफ्नै घरमा बसेको छु । परिवारसँग रमाएको छु । विरामी परेको बेला कुनै समस्या छैन । चाडवाड सँगै मनाउन पाएको छ । नेपालमा घुमेर, खाएर ३० हजार कमाई हुन्छ भनें विदेश किन जानु पर्यो र ?
तपाई नेपालमा नै कसरी काम गर्ने भनेर सोच्दै हुनुहुन्छ भनें एउटा आफूलाई रुचि भएको विषयमा तालिम चाहिं लिनु जरुरी छ । हाम्रो क्षेत्रको काम प्रायः ठेकेदारको साथ लागेर काम सिक्ने हो । तर त्यसरी सिकेको सिकाई ढिलो हुन्छ र सुरक्षा, आफ्नै काम कसरी सुरु गर्ने भन्ने थाहा हुन्न । त्यसैले तालिम लिनु आवश्यक छ । यसले तपाईलाई दक्ष बनाउँछ र आत्मविश्वास पनि दिन्छ ।
(शनिवार प्रशारण हुने रेडियो कार्यक्रम सुनौलो मौकामा प्रशारित भक्तपुरका रमेश वाकुको अन्तर्वार्तामा आधारित । बैशाख ४, २०७५ मा प्रकाशित)
यो पनि पढ्नुहोस् ‘नेपालमा नै महिनामा ४०–५० हजार कमाई हुने काम यी हुन्’