
सञ्जय पन्थी, काठमाडौं, बैशाख २-
तीन बर्ष अघि कतारमा हत्या भएका कपिलवस्तुको मायादेवी गाउँपालिका–१ का ईवरार हुसैनको परिवारले अन्ततः हत्यामा दोषि ठहरिएका पाकिस्तानी नागरिकलाई क्षमा दिएको छ । कामको सिलसिलामा तीन वर्ष अघि कतार पुगेका कपिलवस्तुका २४ बर्षे हुसैनको कतारमा हत्या भएको थियो ।
कतारी अदालतले घटनामा दोषि ठहर्याएका पाकिस्तानी नागरिक मोहम्मद सिद्धिकीलाई मृत्युदण्डको सजाय सुनाईएको थियो । मृतक हुसैनका पिता अव्दुल सलामले छोराका हत्यारा सिद्धिकीलाई अन्तिम समयमा क्षमा गरिदिएपछि पाकिस्तानी नागरिक सिद्धिकी मृत्युदण्डबाट बाँच्न सफल भएका छन् । मृत्युदण्डको केही घण्टा अगाडी मात्र अघिल्लो शुक्रबार हुसैनका बाबु हुसैनले क्षमा गरिदिएपछि पाकिस्तानी नागरिक सिद्धिकी मृत्युदण्डबाट जोगिन सफल भएका हुन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितीमा हुसैन परिवारले सिद्धिकी परिवारको याचनालाई स्वीकार्दै क्षमा गरिदिएको हो ।
कपिलवस्तु कृष्णानगर निवासी सामाजिक कार्यकर्ता सिराज फारुकीका अनुसार परराष्ट्र मन्त्री ज्ञवालीको पहलमा नै पाकिस्तानी नागरिक सिद्धिकीको मुत्युदण्ड टरेको हो । मृत्युदण्डको ८ घण्टा अगाडी मन्त्री ज्ञवालीको पहलमा अन्तिम समयमा सिद्धिकी परिवारले हुसैन परिवारले दिएको क्षमापत्र नेपाल स्थित कतारी राजदुतलाई उपलब्ध गराएका थिए । यसले मृत्युदण्डको अन्तिम क्षणमा पुगिसकेका पाकिस्तानी नागरिक बाँच्न सफल भए ।
मृत्युदण्डको सजाय पाएको पाकिस्तानी नागरिक सिद्धिकीको परिवार तीन वर्षको अवधीमा पटक–पटक नेपाल आएर हुसैन परिवारसँग क्षमा गरिदिन आग्रह गर्दै आएको थियो । तर यसको कुनै सुनुवाई भएको थिएन । हुसैनका पिताले आफ्नो निर्दाेष छोरोको हत्या भएको भन्दै सिद्धिकीलाई क्षमा नदिने बताउँदै आएका थिए । अन्ततः अन्तिम समयमा गत साता मात्र सिद्धिकी परिवारको फिरादलाई सुनुवाई गर्दै उनले क्षमा गरिदिएका हुन् ।
हुसैनको हत्या ३ जुन २०१४ मा कतारमा भएको थियो । कतारको मार्वाेक रोड डिभिजन कम्पनीमा कार्यरत हुसैनलाई सोही कम्पनीमा कार्यरत पाकिस्तानी नागरिक सिद्धिकीले सामान्य घटनामा भनाभन हुँदा हत्या गरेका थिए । सामान्य परिवारका हुसैन घरमा ५ भाई मध्येका चौथो सन्तान थिए । अविवाहित हुसैनको हत्या पश्चात बाबुले नै कतारबाट शव नेपाल ल्याएर सद्गद् गरेका थिए । गरिबीका कारण बाबुछोरा नै तीन वर्षअघि कतार गएका बेला उक्त घटना भएको थियो ।
छोराको हत्या भएपछि विक्षिप्त अवस्थाामा पिता हुसैन नेपाल फर्किएका थिए । करिव एकबर्ष अघि अभियुक्त सिद्धिकीलाई कतारको अदालतले हत्यारा सावित गर्दै मुत्युदण्डको सजाय सुनाएको थियो । हुसैन परिवारले उनलाई क्षमा गर्न सक्ने त्यहांको कानुन भएपनि हुसैन परिवारले त्यसो नगर्ने अडान राख्दै आएको थियो । कतारको कानुन अनुसार पीडितले क्षमा गरिदिए हत्याका अभियुक्तलाई रिहा गरिदिन सक्ने व्यवस्था छ । त्यही नियम अनुसार सिद्धिकीका परिवार उनी कार्यरत मार्वाे कम्पनीका तर्फबाट सिद्धिकीलाई क्षमा गरिदिन अन्तिम पटकका लागि केही दिन अघिमात्र नेपाल आएर हुसैन परिवारलाई फिराद सहित विन्ती गरेको थिए ।
तर जतिबेला हुसैन परिवारले सिद्धिकी परिवारको याचना स्वीकार गर्यो त्यो समयमा क्षमादानको कागजपत्र कतार पठाएर सिद्धिकीलाई मुत्युदण्डबाट बचाउन सम्भव थिएन । परराष्ट्रमन्त्री ज्ञवालीलाई उक्त अवस्थाबारे सिराजले जानकारी गराएपछि सिद्धिकीको मृत्युदण्ड टरेको हो ।
सिराजका अनुसार मन्त्री ज्ञवालीको उपस्थितीमा घटनाको सम्पूर्ण अवस्थाको बारेमा नेपाल स्थित कतारका राजदुत युसुफ वीन मोहम्मद अल हईलाई जानकारी गराइएको थियो । उनकै अगाडी दुई परिवारबीचको मिलापत्र स्वयं आफ्नै अगाडी भएको देखेपछि नेपाल स्थित कतारका राजदुत हईले यस प्रक्रियामा सहयोग गरेका थिए ।
मृत्युदण्डको सजाय पाएका सिद्धिकीलाई बचाउन केही दिन अघि मात्र अन्तिम पटकको आग्रहका लागि नासिम पौजिया र नासिम बादशाह कतारबाट नेपाल आएका थिए । अन्तिम समयमा कपिलवस्तु मायादेवी– १ मा रहेको हुसैन परिवारले क्षमाका लागि मन्जुर भएपछि उनीहरुलाई काठमाडौं ल्याएर मन्त्री ज्ञवालीको रोहवरमा दुई पक्ष विच मिलापत्र गराउन समाजिक कार्यकर्ता सिराजको प्रयासले सम्भव भयो ।
क्षमा गरिदिए पश्चात सिद्धिकीकको तर्फबाट मार्वाेक कम्पनीले हुसैन परिवारलाई व्लड मनी वापत नेपाली २ करोड रुपैंया उपलब्ध गराउन लिखित प्रतिवद्धता जनाएको छ । कम्पनीका प्रतिनिधिले मन्त्री ज्ञवालीका अगाडी नै सो सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सो प्रकृयामा सहभागि मध्येका एक सिराजले भने ‘दुबै पक्षको मन्जुरीमा मन्त्रीको पहलले पाकिस्तानी नागरिक सिद्धिकीले पुर्नजीवन पाएका छन् । साथै पीडित हुसैन परिवारले चित्त बुझ्दो क्षतिपूर्ति पनि पाएको छ ।’
कुनै स्वार्थ विना नै पाकिस्तानी नागरिक सिद्धिकीको गल्तीको प्रायश्चित्त पछिको जीवनलाई बचाउन यो पहल गरेको उनले बताए । सिराजले भने ‘तीन वर्षदेखि प्रत्येक दिन मर्दै बाँच्दै गरेको एक अभियुक्तलाई उसको याचनाका कारण अन्तिम समयमा जीवन दिन सफल भयौं । अहिलेसम्म गरिएको समाज सेवामा मबाट यति ठूलो मानविय कार्य कहिल्यै भएको थिएन ।’
आफूलाई सामाजिक कार्यकर्ता भन्न रुचाउने सिराज नेकपा एमालेको केन्द्रिय लेखा समितिका सदस्य हुन् । मृत्युदण्डको सजाय तोकिएका सिद्धिकीका नावालक एक छोरा र छोरी छन् । त्यो अवस्थाको अनुभुती सहित सिद्धिकीले गरेको गल्ती प्रायश्चित गरेर क्षमा मागेपछि क्षमा गरिदिन आफ्ना तर्फबाट पहल गरको उनको भनाइ छ ।
परराष्ट्र मन्त्रालयका सचिवको भनाई उदृत गर्दै सिराजले भने ‘रोजगारका सिलसिलामा मध्यपुर्वमा मृत्यु भएका नेपाली परिवारले पाएको क्षतिपूर्ति मध्ये यो अहिलेसम्म कै ठूलो हो ।’ सो रकम कम्पनीले कतारी दूतावास तथा नेपाल सरकारको रोहवरमा मृतक हुसैनका पिताको नाममा बैंक खातामा जम्मा गरिदिने प्रतिवद्धता जनाएको छ ।
यो पनि पढ्नुहोस् ‘नेपालमा नै महिनामा ४०–५० हजार कमाई हुने काम यी हुन्’