
काठमाडौं, बैशाख १-
तपाई अहिले बजारमा खोजेर हेर्नुस्, तपाईले दक्ष मान्छे पाउनै गाह्रो हुन्छ । कुनै मेकानिकल वर्कसपमा जानुस्, त्यहाँ वेल्डर पाउन गाह्रो भयो भन्ने सुन्नुहुन्छ । घर बनाउनुस्, राम्रो मेसन(डकर्मी) पाउन मुस्किल हुन्छ । प्लाम्वर, ईलेक्ट्रिसियन पाउन उस्तै समस्या छ । कुनै उद्योग कलकारखानामा जाँदा त्यहाँका सञ्चालकहरुले तपाई जति सक्नुहुन्छ त्यति तालिम सकेका व्यक्ति दिनुस् भन्नुहुन्छ । तर हाम्रो प्राविधिक शिक्षालयले त्यो माग अनुसार दक्ष व्यक्ति दिन सकिरहेको छैन ।
अहिले परिस्थीति कस्तो छ भनें नेपालमा एउटा साधारण भन्दा साधारण वेल्डरले राम्रोसँग काम गर्ने हो भनें उसले ४०-५० हजार आरामले कमाउन सक्छ । यसका लागि उति धेरै दक्षताको पनि आवश्यकता हुन्न । एउटा व्यक्तिले तीन महिनाको तालिम लिएर बजारमा ६ महिना अभ्यास गर्ने हो भनें उसले ४०–५० हजार कमाउन कहिं जानु पर्दैन ।
वेल्डरको मात्र होइन ईलेक्ट्रिसियनको कुरा गरौं, उसले तीन महिने तालिम सकेर बजारमा जाने वित्तिकै उसको कमाई मासिक १५ हजारको हाराहारीमा हुन्छ र ६ महिना राम्रोसँग काम गर्दै गयो भनें उसको कमाई पनि वेल्डरको भन्दा कम हुन्न ।
मलाई लाग्छ हामीले देशभित्रैको रोजगारी चिन्न सकेनौं । हाम्रो देशभित्रै यति धेरै रोजगारीका अवसर छन् की हामीले या त त्यसको पहिचान गर्न सकेनौं वा त्यो काम गर्न चाहेनौं । म सुन्छु मुलुकमा रोजगारी छैन त्यसैले विदेश जानु पर्यो, त्यो अवस्था पटक्कै होइन । काम गर्छु भन्नेहरुका लागि स्वदेशमा पनि उत्तिकै अवसर छन् ।
विदेशमा हामीले पाउने पारिश्रमिकका बारेमा राम्रोसँग बुझौं । अनी नेपालमा नै काम गर्दा हुने कमाईको तुलना गरौं । नेपालमा काम गर्दा आफ्नो परिवारसँग, आफ्नै ठाउँमा बसेर काम गर्दा हुने सहजता पनि बुझ्न जरुरी छ ।
अहिले पनि लाखौं व्यक्ति हरेक बर्ष विदेश गइरहेका छन् । होला यो बैदेशिक रोजगारमा जाने मोह आजको भोली त पूरै घट्छ भन्न सकिन्न तर प्रयास गर्ने हो भनें यो विस्तारै कम हुँदै जान सक्छ । यसका लागि रोजगारीमा जान तयार युवालाई हामीले स्वदेशमा नै उपलव्ध हुने रोजगारीका अवसरका बारेमा राम्रोसँग बुझाउन जरुरी छ ।
हाम्रो प्राविधिक शिक्षालयमा धेरै प्रकारका तालिमहरु छन् । छोटो अवधिका ३ महिने तालिमहरु निःशुल्क हुन्छ । त्यसको कुनै शुल्क तिर्नु पर्दैन । मेसन(डकर्मी), ईलेक्ट्रिसियन, प्लम्वर, वेल्डर, स्ट्रक्चरल फेब्रिकेटर, ईण्डष्ट्रियल ईलेक्ट्रिसियन, सोलार टेक्निसियन जस्ता थुप्रै तालिम हामी सञ्चालन गरिरहेका छौं ।
तर यी तालिम लिंदा एउटा कुरामा भनें ध्यान दिन जरुरी छ । हाम्रो स्कूलमा भर्ना हुन आउने हरेक प्रशिक्षार्थीलाई हामी पहिलो दिन नै के भन्छौं भनें तपाईले तालिम सकेर बजारमा जाँदा तपाईको तलव यति हुन्छ । तपाईले यो पेशामा गर्नुपर्ने कामहरु यो यो हो । कतिपय मान्छेलाई थाहा नपाएर बीचमा गएर छोड्नु पनि नपरोस् । त्यसैले हामी पहिलो दिन नै कामको प्रकृति, त्यसमा आइपर्ने चुनौती, पाइने तलव जस्ता सवै कुरा जानकारी गराउँछौं । हामी तालिमलाई कहिल्यै पनि प्राथमिकता दिंदैनौं । हाम्रो प्राथमिकता भनेको त तालिम पछिको रोजगारी हो ।
(सरकारद्धारा सञ्चालित बालाजु प्राविधिक शिक्षालयका रोजगार परामर्श शाखा प्रमुख अनील बज्राचार्यसँग रेडियो कार्यक्रम सुनौलो मौकाका लागि गरिएको कुराकानीमा आधारित । यो कार्यक्रम हरेक शनिवार विहान ९:१५ देखि १०:०० बजेसम्म देशका मुख्य २२ वटा रेडियो स्टेशनहरुबाट प्रशारण हुन्छ ।)
यो पनि पढ्नुहोस् ‘स्वदेशमा नै मासिक ५० हजार कमाइरहेको छु’