
काठमाडौं, चैत्र २९-
तपाई बैदेशिक रोजगारमा जाने योजनामा हुनुहुन्छ ? कुन मेनपावर कम्पनीको सेवा कस्तो छ भन्ने जानकारी कहाँबाट पाइएला भनेर भौतारिनु पो भएको छ की ? यदि त्यसो हो भनें अव एउटा उपाय छ तपाईसँग ।
अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ(आइटीयूसी) ले सुरु गरेको वेभसाइट https://www.recruitmentadvisor.org/ne ले तपाईलाई मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिन्छ । यो वेभसाइट नेपालसँगै ईण्डोनेशिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु भएको छ । यस वेभसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा पेजहरु रहेका छन् ।
आइटीयूसीको एमआरए परियोजनाकी व्यवस्थापक ईरा रच्मावतीका अनुसार यस वेभसाइटले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनीको छनौट गर्न मद्धत गर्नेछ । उनले बैदेशिक रोजगारका क्रममा रहेकाहरु वा बैदेशिक रोजगारबाट फर्केकाहरुकै मूल्याङ्कनका आधारमा सम्वन्धित मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने भएको र सो जानकारीले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनी छनौट गर्न सहयोग गर्ने बताइन् । त्यसैले बैदेशिक रोजगारका लागि कुनै मेनपावर कम्पनीको सेवा लिइसकेकाहरुलाई आफ्नो अनुभवका आधारमा फर्म भरेर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।
नेपालमा हाल १ हजार भन्दा धेरै मेनपावर कम्पनीहरु छन् । ति सवै मेनपावर कम्पनीको नाम सहितको लिष्ट https://www.recruitmentadvisor.org/ne को वेभसाइटमा राखिएको छ । यो वेभसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले आइटीयूसीसँग सहकार्य गरेको छ ।
यो पनि पढ्नुहोस् विदेशबाट श्रीमानले अर्कैसँग लागेको आरोप लगाउँदा झरेका आँशु …………..(भिडियो)