
दोहा, चैत्र २७-
कतारस्थीत स्वीस कन्ट्राक्टिङ कम्पनीले घर फर्किन समेत नपाउने गरी यात्रा प्रतिवन्ध लगाएका सातजना नेपालीलाई नेपाली दूतावासले प्रयास गरेर नेपाल फर्काएको छ । दूतावासका अनुसार सो कम्पनीले जीत बहादुर विक, हरि कुमार थापा, श्याम केवट, गिरीराज पंगेनी, श्यामलाल राना, रामकृष्ण गुरुङ तथा कृष्ण बहादुर दर्जीलाई नेपाल फर्काउने व्यवस्था मिलाएको हो ।
सो कम्पनीले ति नेपालीलाई फकाएर खाली कागजमा दस्तखत गर्न लगाएको र पछि त्यहि खाली कागजमा ९ हजार रियाल बुझेको भनेर लेखेर उनीहरु कम्पनी छोडेर भागेको भन्दै अदालतमा मुद्धा चलाएको थियो । सोही आधारमा ति नेपालीलाई कतार बाहिर जान यात्रा प्रतिवन्ध लागेकोमा दूतावासले पहल गरेर उनीहरु स्वदेश फर्किन पाउने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ । उनीहरु गत शुक्रवार नेपाल फर्किएका छन् ।
सो कम्पनीले नेपाली कामदारलाई फसाएर दुःख दिएको भन्दै सो कम्पनीमा थप कामदार नपठाउन र आवश्यक कारवाहीका लागि सम्वन्धित निकायमा पत्राचार गरिएको दुतावासले जनाएको छ ।
यो पनि पढ्नुहोस् विदेश पठाइदिने नाममा १८ जना युवाको ७ लाख ठगेर फरार