प्रभातकुमार मिश्र, जनकपुर, चैत्र, २७-
धनुषामा ठूलो संख्यामा युवाहरुसँगबाट रकम उठाएर एक एजेण्ट वेपत्ता भएका छन् । धनुषा किसानपुरका जोगि भनिने योगनारायण मण्डल १८ जना युवाको प्रतिव्यक्ति ४० हजार(जम्मा ७ लाख २० हजार) संकलन गरेर तथा उनीहरुको पासपोर्ट सहित बेपत्ता भएका हुन् ।
यसरी ठगिनेहरु मध्ये १० जना मिथिलेश्वर नगरपालिका २ नक्टाझिजका रहेका छन् भनें अन्य अन्य नगरपालिकाका रहेका छन् । पीडितहरु आफ्नो रकम र पासपोर्ट फिर्ता गराइदिन मद्धत माग्दै जनकपुरस्थीत सुचना तथा परामर्श केन्द्रमा आएपछि घटना सार्वजनिक भएको हो ।

बैदेशिक रोजगारमा कुवेतमा क्लीनरको काममा पठाउने भन्दै एजेन्टको काम गर्ने मण्डलले ति युवाबाट रकम उठाएका थिए । उनले उनीहरुको स्वास्थ्य परिक्षण पनि जनकपुरमा गराएर काठमाडौंमा लगेर झण्डै १०/१५ दिन राखेको पीडित मध्येका एक प्रभु ठाकुरले बताए ।
उनका अनुसार मण्डलले आफूहरुलाई मासिक १ सय १५ केडी(नेरु झण्डै ४० हजार) तलव हुने आश्वासन दिएका थिए । काठमाडौंमा कैलाश मेनपावर कम्पनीका सञ्चालक सञ्जीव केसीलाई भेटाएका एजेण्ट मण्डललाई केसीले तलव ९० केडी मात्र हुने भन्दै हप्काएपछि उनले ति युवालाई आफूले अर्कै मेनपावर कम्पनीबाट मासिक १ सय १५ केडीमा नै रोजगारीमा पठाउने भन्दै धनुषा फर्काएका थिए ।
आफूहरुलाई घर फर्काएपछि एजेण्ट सम्पर्कविहिन भएको अर्का पीडीत अलि हुसेन अन्सारीले बताए । उनका अनुसार त्यसपछि मण्डल भागेर सिरहाको माडरमा एक लजमा बसिरहेको सुचना पाएपछि पीडितहरु उनलाई पक्रिन गएका थिए । तर स्थानीय बासिन्दाको सहयोगमा मण्डल त्यहाँबाट उम्केर भागेपछि उनलाई फेला पार्न नसकिएको अन्सारीको भनाई छ ।
रकम उठाउनु पूर्व एजेण्ट मण्डलले ति युवालाई नक्कली भिषाको प्रतिलिपि देखाएका थिए । सो भिषामा अंग्रेजीमा आफूहरुको नाम भएपनि अरवीमा अर्कै नाम रहेको पत्ता लागेपछि आफूहरुले रकम र पासपोर्ट फिर्ता गर्न भनेको र मण्डल त्यसपछि भागेको भन्दै उनलाई पक्रेर आफूहरुको रकम र पासपोर्ट फिर्ता गराइदिन पीडितले आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस् श्रम स्वीकृतिको म्याद सकिएपछि पनि घर नफर्किंदा
