काठमाडौं, चैत्र २५-
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले युएईलाई नेपालको सरकारी अस्पतालको स्वास्थ्य जाँच रिपोर्टलाई मान्यता दिन आग्रह गरेका छन् । नेपालका लागि युएईका राजदूत सईद हामदाम अल नाक्वीसँगको भेटमा मन्त्री विष्टले यस्तो आग्रह गरेका हुन् ।
नेपाली श्रमिकको स्वास्थ्य परिक्षण नेपालकै सरकारी अस्पतालबाट गराई रोजगारीका लागि पठाउन सकिने व्यवस्थाका लागि आग्रह गरेको छु राजदूतसँगको भेट पश्चात बोल्दै श्रम मन्त्री विष्टले भने यसमा उहाँ(राजदूत) ले यसका लागि आवश्यक पहल गर्ने जानकारी गराउनु भएको छ ।
नेपाली युवालाई व्यावसायीक सीप सिकाउन तथा सीपमूलक तालिम प्रदान गरी दक्ष बनाउने उद्धेश्यले सीप विकास तालिम केन्द्र स्थापना गर्न युएईले आवश्यक सहयोग र सहकार्य गर्ने समेत बताएको मन्त्री विष्टले बताए ।
यसैगरी कतारका राजदूत युसुफ वीन मोहम्मद अल हईसँगको भेटमा नेपाल र कतारबीचको श्रम सम्झौताका प्रावधानहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा समयानुकुल परिमार्जन गर्ने विषयमा छलफल भएको मन्त्री विष्टले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस् सरकारले विदेशबाट नै पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउने
