
काठमाडौैं, चैत्र २१-
साउदी अरवका लागि पूर्व राजदूत उदयराज पाण्डेले नेपाली राहदानी बोकेर संसारको कुनै मुलुकमा पुगेको नेपालीको सुरक्षा र संरक्षणको दायित्व राज्यको हुने बताएका छन् । उनले कुनै पनि बहानामा राज्य सो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।
पूर्व राजदूत पाण्डेले गन्तव्यमुलुमा रहेका दूतावासलाई अधिकार प्रत्यायोजन गर्ने हो भनें हाल देखिएका धेरै समस्या सम्वोधन हुन सक्ने बताए । गन्तव्य मुलुकबाट नै श्रम स्वीकृति नविकरण, बीमा गर्न पाउने व्यवस्था गरेमा यसले हाल देखिएको अभिलेखविहिन हुने कामदारको संख्यामा कमि आउने पाण्डेको भनाई थियो । उनले यसमा लागि सामुहिक प्रयत्न आवश्यक रहेको भन्दै यसमा बीमा कम्पनी लगायतले सहज रुपमा सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल तथा प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको अभिलेखविहिन कामदारको समस्या र त्यसको समाधानका बारेमा आयोजीत छलफल कार्यक्रममा बोल्दै पूर्व राजदूत पाण्डेले सो समस्या सम्वोधन गर्न बैदेशिक रोजगार ऐनमा नै व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले हाल नेपाल संघिय संरचनामा गइसकेको अवस्थामा बैदेशिक रोजगारलार्ई सुरक्षित बनाउन गाउँ पालिका तथा नगरपालिकाहरुको पनि उत्तिकै दायित्व हुने भन्दै त्यसका लागि झक्झक्याउन आवश्यक रहेको धारणा राखे ।
उनले साउदी अरेवियाबाट मात्र पछिल्लो ७ ८ बर्षमा झण्डै ४२ हजार व्यक्ति आममाफीमा सहभागि भएर फर्किएको भन्दै यसले अभिलेखविहिन हुने समस्या ठूलो रहेको बताए । उनले सम्वन्धित मुलुकको कानूनको सम्मान गर्दै दूतावासले समेत अभिलेखविहिन कामदारलाई सहयोग गर्न समस्या पर्ने भन्दै स्वयं कामदार पनि यसमा सजग हुनुपर्ने पूर्व राजदूत पाण्डेको भनाई थियो ।
बैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक समेत रहिसकेका पूर्व सचिव पूर्णचन्द्र भट्टराईले आधारभूत सुचना आम नागरिकसम्म कसरी पुर्याउने भन्ने मुख्य चुनौति रहेका धारणा राखे । उनले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई तुलनात्मक विश्लेषण गर्नसक्ने बनाउनु आवश्यक रहेको भन्दै यसले बैदेशिक रोजगार वा स्वदेशको रोजगार कुन फाइदाजन हुन्छ भनेर व्यक्ति स्वयंले निर्णय गर्नसक्ने बताए ।
पूर्व सचिव भट्टराईले स्थानीय सरकार सञ्चालन ऐनले बैदेशिक रोजगारको विषयमा स्थानीय तहलाई नै काम गर्ने धेरै दायित्व दिएको भन्दैै यसका लागि स्थानीय सरकारलार्ई सक्षम बनाउनु आवश्यक रहेको धारणा राखे । उनले स्थानीय सरकारले चाहेमा हालको बैदेशिक रोजगारको क्षेत्रमा देखिएको थुप्रै समस्या हल हुने बताए । उनले सामाजिक सञ्जालको सदुपयोग, एमएमएस मार्फत सम्वन्धित परिवारलाई बैदेशिक रोजगारमा गएका व्यक्तिको श्रम स्वीकृतिको अवधि सकिन लागेको जानकारी गराउने जस्ता कार्य गरिएमा त्यसले अभिलेखविहिन भएर बस्ने समस्या केहि भएपनि हल हुने धारणा राखे ।
कार्यक्रममा साउदी अरवको जेद्धा स्थीत नेपाली महावाणिज्य दूतावासका परामर्शदाता मनोहरि दंगाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कुलप्रसाद कार्की, पिएनसीसीका महासचिव सोमप्रसाद लामिछाने लगायतले धारणा राखेका थिए ।
यो पनि पढ्नुहोस् विदेशमा दुःख, अप्ठ्यारो परेका नेपालीको अभिभावक राज्य हुन्छः श्रम मन्त्री विष्ट