
काठमाडौं, चैत्र २०-
गोकर्ण विष्ट, वर्तमान सरकारका श्रम तथा रोजगार मन्त्री हुन् । नेकपा एमालेका सचिव समेत रहेका मन्त्री विष्ट एमालेका लोकप्रिय युवा नेताका रुपमा परिचित छन् । उनले मन्त्री हुने वित्तिकै बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि श्रम स्वीकृति लिन केहि जिल्लाहरुमा कार्यालय खोल्ने, बैदेशिक रोजगार विभागमा पीडितको उजुरीको दैनिक सुनुवाई तथा बैदेशिक रोजगार विभागमा अनावश्यक रुपमा बर्षौंदेखि बसिरहेका कर्मचारीको हाजिरी वन्द लगायतका काम गरेर आफूले यस क्षेत्रमा सुधार गर्न चाहेको सन्देश दिन खोजेका छन् । मन्त्री विष्टसँग सुनिल न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
प्रश्नः यसअघि उर्जामन्त्री हुँदा विजुलीको बक्यौता नतिर्ने सरकारी कार्यालयहरुकै लाइन काटेर तपाई चर्चामा रहनु भयो । यसपटक बैदेशिक रोजगारको क्षेत्रमा साह्रै धेरै विकृति, विसंगति छन् । कुन विकृतिको लाइन काट्ने योजनामा हुनुहुन्छ ?
मन्त्री विष्टः मैले ‘सिष्टम’ निर्माण गरेर धेरै बेथितिहरुलाई नियन्त्रण गर्न सकिने देखेको छु । आजसम्म जुन प्रकारका विकृतिहरु छन्, तिनिहरु दोहोरिन नपाउने गरी एकातिर प्रविधि प्रयोग गरिनेछ ‘सिष्टम’द्धारा नै यसलाई नियन्त्रण गर्न कोशिष गरिनेछ । अर्कातिर विद्यमान नीति, कानूनहरु, कार्यक्रमहरु विद्यमान प्रयत्नहरु त्यति प्रभावकारी भइरहेका छैनन् भनें तिनमा सुधार गरेर लगिने छ र सामुहिक रुपमा प्रयत्न गरिनेछ जसका कारण आगामी दिनमा कुनै पनि मूल्यमा हिजोको दिनको विकृतिले निरन्तरता पाउने छैन ।
प्रश्नः अव मुलरुपमा बैदेशिक रोजगारलाई व्यवस्थीत गर्न तपाईको प्रयास के कुरामा केन्द्रीत हुने छ ?
मन्त्री विष्टः यसमा मैले हेरिरहेको छु कतिपय विकृतिहरु छन् । पर्दा पछाडी भइरहेका अनुचित खेलहरुले युवाहरुलाई झण्झट दिने, युवाहरु ठगिने समस्या प्रति म अवगत छु । एउटा शर्तमा रोजगारीका लागि गएका युवाहरुले त्यो शर्त अनुरुपको काम र तलव पाइरहेका छैनन् । विभिन्न चरणमा युवाहरु ठगिने खेल चलिरहेको छ । राज्यका संयन्त्रहरुले पनि ठिक ढंगले भूमिका निर्वाह गरिरहेका छैनन । म अहिले साँकेतिक रुपमा यति मात्र भन्न चाहन्छु की कुनै पनि क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि सरकारले गम्भीरताका साथ पहल लिनेछ ।
प्रश्नः यो त बैदेशिक रोजगारको विषय भयो । स्वदेशमा रोजगारीको अवसर बृद्धि उत्तिकै महत्वपूर्ण विषय हो । त्यस्ता युवाहरु जो स्वदेशमा नै रोजगारको अवसर खोज्न चाहन्छन्, उनीहरुले के अपेक्षा गर्न सक्छन् वर्तमान सरकारबाट ?
मन्त्री विष्टः पहिलो प्राथमिकता भनेको त नेपालभित्रै रोजगारीका सम्भावनाहरुको खोजि गर्ने हो । त्यसैले हामी नेपालभित्रै सम्भावनाहरुको खोजि गर्न चाहन्छौं । जे सम्भावना छ, त्यसको अधिकतम उपयोग गर्दै नेपालमा नै रोजगारी सिर्जना गर्नेगरी प्रथामिकता दिएर नीति निर्माण गर्ने कार्य गरिनेछ । नेपाली युवालाई कसरी हुन्छ, स्वदेशमा नै रोजगारीको अवसर दिलाउन हामी गम्भीर छौं ।
प्रश्नः लाखौं युवा अहिले पनि विदेशमा छन् र उनीहरु स्वदेशमा फर्केर काम गर्न चाहन्छन् । त्यसका लागि उनीहरु आफूले विदेशमा सिकेको सीपको प्रमाणिकरण होस् भन्ने चाहन्छन् र कमाएको पुँजीको सदुपयोगको वातावरण निर्माण होस् भन्ने चाहन्छन् । त्यसतर्फ सरकारले के काम गर्छ ?
मन्त्री विष्टः विदेशमा नेपाली युवाले कमाएको छरिएर रहेको पुँजीलाई कसरी एकिकृत गर्ने र त्यसका लागि के गर्ने भनेर हामीले सोच्न जरुरी छ । दोश्रो, उनीहरुले विदेशमा जे सिकेका छन् र जति पुँजी कमाएका छन् उनीहरुलाई नेपाल फर्काएर स्वरोजगारमा कसरी लगाउन सकिन्छ भनेर पनि हामीले प्रयत्न गर्न जरुरी छ । तेश्रो, उनीहरुले विदेशमा जुन सीप सिकेका छन् त्यसलाई कुनै निकायबाट प्रमाणिकरण गरिदिनु र त्यसलाई बैद्यता प्रदान गर्नु जरुरी छ । यी सवै कुरामा मेरो ध्यानाकर्षण भएको छ, हामी त्यहि रुपमा अगाडी बढ्ने गरी योजना बनाउँदैछौं ।
प्रश्नः लाखौं युवा विदेशमा छन् उनीहरुलाई तपाईको सन्देश के छ ?
मन्त्री विष्टः लाखौं युवाहरु अहिले जो विदेशमा पसिना बगाइरहनु भएको छ तपाईहरुले विदेशमा गएर त्यसरी श्रम गर्नु नपर्ने गरी नेपालमै रोजगारीको वातावरण निर्माणका लागि हामी प्रयत्नशील छौं । यद्यपी यसले केहि समय लिन सक्छ तर सरकार नेपालीले अर्को कुनै मुलुकमा गएर श्रम, सीप बेच्नु नपर्ने वातावरण निर्माण गर्ने दिशामा अगाडी बढेको छ । हामी कुनै पनि मूल्यमा सुधार गर्नेछौं ।
विदेशी भूमिमा नेपाली नागरिकले दुःख पाउँदा राज्यले यथोचित सुरक्षा प्रदान गर्न नसकिरहेको अवस्थाको पनि हामी अन्त्य गर्न चाहन्छौं । विदेशमा कुनै समस्यामा परेका नेपालीलाई आफ्नो मुलुक अभिभावक छ भन्ने विश्वास दिलाउन जरुरी छ । त्यसैले अप्ठ्यारोमा, दुःखमा परेका नेपालीलाई मेरो अभिभावक मेरो राज्य छ भन्ने अनुभूति हामी दिलाउने छौं । यसका लागि हामीले प्रविधि, संयन्त्र, नीति बनाउन केहि समय लाग्छ तर हामी त्यो गर्नेछौं । विदेशी भूमिमा श्रम गरिरहेका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई म यहि सन्देश दिन चाहन्छु ।
(मन्त्री विष्टसँगको यो कुराकानी गत शनिवार देशभरीका २२ वटा प्रमुख स्थानीय रेडियोहरुबाट प्रशारण भएको कार्यक्रम सुनौलोे मौकामा प्रशारण गरिएको हो)
यो पनि पढ्नुहोस् भिजिट भिषाको मूल्य झण्डै दुई लाख !