
काठमाडौं, चैत्र १९-
युएईमा पेप्सी कम्पनीमा रोजगारी दिलाइदिने नाममा भन्दै एक एजेण्टले केहि युवाको रकम ठगेका छन् । ठगिमा परेका मध्ये ५ जना आफुहरुको रकम उठाइदिन भन्दै धनुषास्थीत सुचना केन्द्रमा आएपछि ठगिको सो घटना सार्वजनिक भएको हो ।
युएईस्थीत पेप्सी कम्पनीमा मासिक १ हजार ५ सय दिराम तलव र खाना बापत थप ३ सय दिराम गरि मासिक १ हजार ८ सय(झण्डै ५० हजार) कमाई हुने काममा भन्दै एजेण्टले रकम उठाएको पीडितहरुले बताएका छन् । ठगिमा परेकाहरुले जनकपुरमा मनिषा ट्राभल्स एण्ड टुर्स सञ्चालन गरेर बसेका बद्री ठाकुरले आफूहरुसँग रकम उठाएको भन्दै रकम फिर्ता गराइदिन सुचना केन्द्रमा निवेदन दिएका हुन् ।
पीडित मध्ये सवैभन्दा धेरै रकम महोत्तरीका किशोरी मण्डल धानुक, रामहृदय कापर तथा उपेन्द्र सहनीको परेको छ । उनीहरुबाट एजेण्ट मण्डलले जनही १ लाख ८४ हजार उठाएका छन् । यसैगरी धनुषाका जीतनारायण गडेरीबाट ६५ हजार तथा धनुषाकै मन्सुर आलमबाट ७५ हजार उठाएको पीडितहरुको भनाई छ ।
रकम उठाएपछि उनीहरुलाई एजेण्ट ठाकुरले तीनपटक काठमाडौं लगेर स्वास्थ्य परिक्षण लगायतका कार्य गराएका थिए । अन्त्यमा उनीहरुलाई भिजिट भिषा तथा फ्लाई दुवईको टिकट थमाएर उनी पन्छिन खोजेका थिए । यसरी पठाउन खोज्दा नमिलेपछि एजेण्ट ठाकुरले अर्को एक मोवाइल नम्वर दिएर सो नम्वर मेनपावर कम्पनी सञ्चालकको भएको भन्दै आफू उम्किन खोजेको पीडितहरुको भनाई छ ।
सो नम्वरमा फोन गर्दा एक महिलाले उठाएको र उनले युएईमा आफ्ना श्रीमान् कार्यरत रहेको भन्दै युएई पुगेपछि उनी एयरपोर्टमा लिन आउने र पेप्सी कम्पनीमा नभई अर्कै कम्पनीमा रोजगारीमा लगाइदिने आश्वासन दिएकी थिइन् । तर ठूलो रकम तिरिसकेका युवाहरुले आफूहरुलाई पेप्सी कम्पनीमा काम लगाइदिने भन्दै रकम उठाइएको हुँदा कि त सोही कम्पनीमा पठाउन वा रकम फिर्ता गर्न भनेपछि उनी मोवाइल अफ गरेर बेखवर भएकी छिन् । उनी सीता केसी रहेको एजेण्ट ठाकुरले बताएका छन् ।
ठाकुरले भनें आफू केवल ट्राभल एजेन्सी सञ्चालक भएको र आफूले बैदेशिक रोजगारको कुनै ग्यारेण्टी नगरेको भन्दै आफूले केवल भिजिट भिषा निकाल्ने र टिकट बनाउने काम गरेको बताए । उनले भिजिटमा जान नचाहेकाहरुको रकम फिर्ता गराउन आफूले नै काठमाडौंस्थीत प्रहरी कार्यालय, गौशालामा निवेदन दिएर केसीलाई पक्राएको र उनले केहि व्यक्तिको रकम फिर्ता गरेको र अन्य केहिको एक हप्ताभित्रमा फिर्ता गराउने बताएको जनाए ।
आकर्षक रोजगारीको प्रलोभनमा भिजिट भिषामा युएई जाने र अलपत्र पर्ने समस्या ठूलो छ । यसका वावजूद पनि सुचनाको अभावमा धेरै युवाहरु हालसमेत भिजिट भिषामा त्यसरी नै गइरहेका छन् ।
यो पनि पढ्नुहोस् युएई जानका लागि प्रहरी रिपोर्ट नचाहिने