
काठमाडौं, चैत्र १८-
साउदी अरवमा थुनामा रहेका प्रेम राईको रिहाई र उद्धारका लागि आवश्यक रकम संकलन गर्न जिफन्ट सहयोग समुह, साउदी अरवले सञ्चालन गरिरहेको अभियानमा २ लाख थप भएको छ । राजधानीमा सम्पन्न नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सातौं महाधिवेशनमा सो रकम संकलन भएको हो ।
सहयोग संकलनका लागि महाधिवेशन हलमा गरिएको प्रस्ताव पश्चात विभिन्न घटकहरु तथा व्यक्तिगत रुपमा गरेर जम्मा २ लाख १ सय ५६ रुपैंयाँ संकलन भएको अभियानको संयोजन गर्दै आएका जिफन्ट, साउदी अरवका प्रतिनिधि राज तामाङले जानकारी दिए । उनले अभियानमा सहयोग गर्ने महासंघ नेतृत्व, घटक युनियनहरुको नेतृत्व तथा प्रतिनिधिहरुका साथै सवैलाई आभार प्रकट गरेका छन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको प्रवासी कमिटी जिफन्ट सहयोग समूह साउदी अरबले विगत एक महिना देखि संस्थागत रुपमा प्रेम राई बचाउन अभियान सञ्चालन गरिरहेको छ । हालसम्म अभियानका क्रममा संसारभरीबाट गरी ६० लाख संकलन भएको तामाङले जानकारी दिए ।
साउदी अरवमा आफूले चलाएको गाडीबाट सामान चोरी भएपछि सो सामानको क्षतिपूर्ति तिर्नुपर्ने अदालतको निर्णय पश्चात हाल प्रेम राई थुनामा छन् । उनको रिहाईका लागि ३ लाख १० हजार (झण्डै नेरु ९५ लाख) आवश्यक पर्दछ ।
यो पनि पढ्नुहोस् नयाँ नेतृत्व चयन गर्दै सकियो जिफन्टको सातौं महाधिवेशन