काठमाडौं, चैत्र १३-
२ नम्वर प्रदेश सरकारको प्राथमिकतामा युवालाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना परेको छ । मुख्य मन्त्री लालबहादुर राउतले २ नम्वर प्रदेशको १०० दिने योजना सार्वजनिक गर्दै युवा बहिर्गमनलाई न्यूनिकरण गर्नु आफ्नो सरकारको प्राथमिकता रहेको बताए ।
मुख्य मन्त्रीले प्रस्तुत गरेको योजनामा भनिएको छः विदेशिएका युवाहरुको स्वरोजगारको लागि सीपमुलक तालिमको व्यवस्था मिलाइने छ । रोजगारीको अवसर सिर्जना गरी युवा बहिर्गमनलाई न्यूनिकरण गरिनेछ ।
यसैगरी १०० दिने योजनामा बैदेशिक रोजगारीमा रहेका परिवारको सामाजिक सुरक्षा तथा विकासको विषय पनि समेटिएको छ । यसका लागि बैदेशिक रोजगारीमा गएको व्यक्तिको परिवारको सामाजिक सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहज पहुँचको लागि नीति बनाइने उल्लेख छ ।
२ नम्वर प्रदेश सवैभन्दा धेरै नेपाली बैदेशिक रोजगारमा जाने जिल्लाहरु पर्ने प्रदेश हो । धनुषा, महोत्तरी, सिरहा, बारा, रौतहट लगायतका जिल्लाहरुबाट बर्षेनी हजारौंको संख्यामा युवाहरु बैदेशिक रोजगारका लागि मलेसिया र खाडीका मुलुकमा जाने गरेका छन् ।
यो पनि पढ्नुहोस् खारेज भयो ३ सय ९२ एजेण्टको लाइसेन्स (सूची सहित)
