
सुनिल न्यौपाने-
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका निवर्तमान अध्यक्ष सिद्धिचन्द्र बरालले यो हप्ता सामाजिक सञ्जालमा एउटा विषय उठाए र यसमा बहस गर्न आग्रह गरे । उनको त्यहि कुराबाट नै पंक्तिकारले यो लेख सुरु गर्दैछ । निवर्तमान अध्यक्ष बरालले लेखेका छनः
“वैदेशिक रोजगारीका समस्या समाधान गर्न बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाका जिम्मेवार ब्यक्तिहरु आ–आफना कार्यक्रम सञ्चालनमा मात्र होइन साँच्चिकै यस क्षेत्रका समस्या समाधानका लागि स्थायित्व प्राप्त गरेको सरकारसँग राउन्ड टेवल बैठक बसि छलफल गरि अन्तराष्ट्रिय नियोगहरुले आ–आफ्नो ढङ्गबाट सञ्चालित कार्यक्रमलाई सम्वन्धित मन्त्रालय मार्फत एकद्वार प्रणाली अन्तरगत बजेट ब्यवस्थापन गर्दै सरकारलाई सहजीकरण गर्न सामाजिक संघ संस्थाहरुको आ–आफ्नो क्षमता र अनुभवका आधारमा सरकारको निगरानीमा केन्द्रीकृत सेवालाई विकेन्द्रीकरण गरि सुचनामा एकरुपता तथा समस्याको प्रभावकारी सम्बोधन तर्फ उन्मुख हुन जरुरी छ । सबैले आ–आफनै डम्फु बजाउने हो भने सम्वन्धित संस्थाको त भलो होला तर बैदेशिक रोजगारका समस्या भने ज्यँका त्यूँ हुनेछन । सामाजिक संस्थाका अगुवाहरुले बेलैमा सोच्न पर्ने धारणा सहित बहस गर्नु पर्ने आवश्यकता छ । सबैमा चेतना भया ।”
बरालले सामाजिक सञ्जालमा लेखेको कुरा यहि हो । विगत लामो समयदेखि एक गैरसरकारी संस्थाको नेतृत्व गरिरहेका र बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको छाता संगठनको अध्यक्ष समेत भइसकेको व्यक्तिले उठाएको यो प्रश्नमा दुईवटा कुरा बलियोसँग मुखरित छन् ।
पहिलो, बैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संघसंस्थाहरुलाई मनलाग्दी आफ्नै ढंगमा काम गरिरहन दिनुको साटो सरकारले नै एउटा मात्र बाटोबाट जाने व्यवस्था गरिदिनु पर्दछ जसले उहि कामका लागि विभिन्न बाटोबाट हुने खर्चलाई नियन्त्रण गर्दछ । काम पनि राम्रो हुन्छ ।
दोश्रो, यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु पनि सुध्रिनु आवश्यक छ अन्यथा यसले स्वयं बैदेशिक रोजगारमा जानेहरु वा समग्र बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थीत बनाउने छैन । बराल स्वयंले भनेका छन् यो अवस्थामा केवल ‘सो विषयमा काम गर्ने संस्थाको मात्र भलो’ हुनेछ । र, दुर्भाग्य हाल बहुसंख्यक संस्थाहरुले गरिरहेको यहि हो ।
बैदेशिक रोजगारमा हुने ठगि, बदमासी र सुशासनको कुरा गर्ने वित्तिकै हालसम्म छलफलमा तानिने भनेको मेनपावर व्यवसायीहरु मात्र हुन् । तर अव प्रश्न उठ्छ के यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु सुशासनको विषयमा चोखो छन् त ? यस विषयमा पनि अव बहस हुनुपर्छ । अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले एउटै कामका लागि गर्ने खर्चलाई एकद्धार मार्फत लैजाँदा हुने सहजताको कुरा त बरालले आफ्नो विचारमा उठाइसकेका छन् थप छलफल राष्ट्रिय रुपमा दर्ता भएर कार्यरत गैररकारी संस्थाहरुका बारेमा हुन जरुरी छ ।
बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने ध्येयले मुलुकमा थुप्रै गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् । ति संस्थाहरु भित्र आन्तरिक सुशासनको अवस्था के छ ? उनीहरुले प्राप्त गर्ने रकम खर्चको पारदर्शीता के छ ? र सामाजिक अभियन्ताको कोट लगाएका ति संस्थाको नेतृत्व गर्नेहरुले प्राप्त गर्ने आर्थिक लाभ साँच्चै सार्वजनिक हुने हो भनें के उनीहरुलाई लोकले हालकै रुपमा सम्मान गर्ला ? यस विषयमा स्वयं ति व्यक्ति र संस्थाहरुले सोच्नुपर्दछ ।
सिमित बाहेक बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु कुनै व्यक्ति वा अत्यन्त सानो समुहको निजि कम्पनीका रुपमा सञ्चालित छन् । ति संस्थाहरुमा नाता आफन्तहरुले मात्र रोजगारी पाएका छन् र स्वयं संस्थाको नेतृत्व गरिरहेका व्यक्तिहरुले प्राप्त गर्ने आर्थिक लाभको हिस्सा ठूलो छ । के यसले समग्र बैदेशिक रोजगारलाई व्यवस्थीत बनाउन मद्धत गरिरहेको छ त ?
अव प्रश्न उठ्छ, बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने केहि गैरसरकारी संस्थाहरुले समाजसेवा गरिरहेका छन् की आत्मसेवा ? तिनिहरुले गर्ने कामले बैदेशिक रोजगारमा जान चाहने, गएका, फर्किएका वा तिनका परिवारको जीवन अवस्थामा परिवर्तन गर्न मद्धत गरिरहेको छ वा स्वयं ति गैरसरकारी संस्था सञ्चालकहरुलाई मद्धत गरिरहेको छ ?
बैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संस्थाहरुको आन्तरिक सुशासनको विषय अव हरेक संस्थाको मसिनोसँग खोतल्दै जान जरुरी छ । ति संस्थाले भित्रियाउने रकम, तिनको खर्चको पारदर्शीता, सो संस्थामा रोजगारीको अवशरमा रहेका व्यक्तिहरुको सो संस्थाका सञ्चालकहरुसँगको नाता सम्वन्ध र संस्थाका मुख्य व्यक्तिले प्राप्त गर्ने लाभका बारेमा अव विस्तारै बहस हुँदै र त्यसले समग्र बैदेशिक रोजगारको लागि भित्रिएको रकमको सदुपयोग भइरहेको छ वा छैन भन्ने बारेमा प्रष्ट तस्वीर दिन्छ । त्यसैले आगामी दिनमा त्यहि रुपमा खोज्न जरुरी छ ।
तर यसो भनिरहँदा गैरसरकारी क्षेत्रमा देखिएको यो बेथिति केवल बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संस्थाहरुमा मात्र होइन, अन्य क्षेत्रमा पनि यस्तै छ । शुद्धिकरणको आवाज उठाउने भनेको चाहिं हरेकले आफ्नो क्षेत्रमा नै हो ।
यो लेखले यस क्षेत्रमा ईमान्दारीपूर्वक काम गरिरहेका संस्थाहरुले आफ्नो सम्मानमा आँच आएको नठानुन् । किनकी जसरी मेनपावर कम्पनीहरु मध्ये पनि कामदारलाई ठूलो आर्थिक भार नपरी काम गर्ने केहि मेनपावर कम्पनीहरु छन्, गैरसरकारी संस्थाहरुमा पनि त्यस्तै राम्रो गर्नेहरु पनि छन् । तर यहाँ उठाउन खोजिएको भनेको सुशासनमा कमजोर रहेकाहरुमा सुधार आउनु पर्छ भन्ने हो ।
त्यसैले अव यस क्षेत्रमा काम गर्ने हरेक गैरसरकारी संस्थाहरुको सुशासनको अवस्थालाई केलाउने समय भएको छ । कुनै पूर्वाग्रह विना यो अभियान सञ्चालन हुनुपर्दछ । सायद, स्वयं गैरसरकारी संस्थाहरुको छाता संस्था, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष बरालले उठाएको प्रश्नको उत्तर खोज्ने सवैभन्दा उत्तम उपाय यहि हो ।
यो पनि पढ्नुहोस् सर्वोच्च अदालतको आदेशः विदेशमा बस्ने नेपालीको मतदानको अधिकार सुनिश्चित गर