काठमाडौँ, चैत्र ६—
कतारमा निर्माणाधीन विश्वकप फुटबल रंगशालामा कार्यरत नेपालीसहित विदेशी कामदारले दलाललाई बुझाएको लागत खर्च फिर्ता पाउने भएका छन् ।
सन् २०२२ को विश्वकपका लागि निर्माणाधीन रंगशालाहरूमा झन्डै २ हजार नेपाली कार्यरत छन् । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार ‘द सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी)’ मार्फत कामदारको लागत खर्च फिर्ता गर्ने घोषणा गरिएको हो । कतारमा विश्वकप रंगशालासम्बन्धी जिम्मेवारी लिएको सुप्रिम कमिटीले झन्डै ३० हजार कामदारको ३.६ मिलियन युरो फिर्ता गर्नुपर्ने अनुमान गरिएको छ । ती रंगशालामा काम गर्न अघिल्लो महिनासम्म ५ हजार ५ सय कामदार पुगिसकेका छन् । विश्वकपका लागि कतारले ८ वटा नयाँ रंगशाला बनाउने घोषणा गरेको छ ।
दूतावासले नेपाली कामदारले तिरेको सेवा शुल्क फिर्ता गराउन सम्पूर्ण विवरण पठाइदिन वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको छ । कतारले रंगशालामा कामदार ल्याउनका लागि म्यानपावरलाई सेवा शुल्कसमेत दिएको थियो । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले रंगशालामा आउने कामदारले दलाललाई पैसा बुझाउनुपरेको प्रतिवेदन दिन थालेपछि कतारले दलाललाई बुझाएको रकम फिर्ता गर्ने घोषणा गरेको हो । कान्तिपुरबाट
यो पनि पढ्नुहोस् एक नेपालीलाई जेल मुक्त गराउन राजदूत सिंहले पनि गरे आर्थिक सहयोग
