काठमाडौं, चैत्र ६–
साउदी अरवमा थुनामा परेका प्रेम राईलाई स्वदेश फर्काउन जिफन्ट सहयोग समुह, साउदी अरवले सञ्चालन गरिरहेको अभियानमा ७ लाख रुपैंया संकलन भएको छ । सो क्रममा साउदी अरवका लागि नेपाली राजदूत प्रा. डा. महेन्द्र सिंहले समेत १ हजार साउदी रियाल प्रदान गरेका छन् ।
जिफन्ट सहयोग समूह साउदी अरबको केन्द्रीय कमिटी बैठकले साउदी अरबको रियादस्थित जेलमा चोरीको आरोपमा बन्दी जीवन बिताइरहेका इलाम माई नगरपालिका वडा नं. ४ का प्रेम राईको जीवन रक्षाको लागि चन्दा संकलन अभियान सुरु गरेको हो । यसका लागि १० लाख रुपैंया संकलनको लक्ष्य सहित अभियान सञ्चालन भइरहेको साउदी अरवका लागि जिफन्ट प्रतिनिधि राज तामाङले जानकारी दिए ।
जिफन्टको सो अभियानमा साउदी अरवमा कृयाशील सामाजिक संस्थाहरु प्रवासी मिलन एकता समाजले सहयोग गरेको छ भनें गुरुङहरुको संस्था तमु धिं प्रवास शाखा साउदी अरबले अभियानमा ऐक्यवद्धता जनाउँदै आर्थिक सहयोग गर्ने तमु धिं प्रवास शाखा अरवका अध्यक्ष खेम गुरुङले जानकारी गराएका छन् । अन्य संस्थाहरुले पनि यसमा ऐक्यवद्धता सहित आर्थिक सहयोग गर्न थालेका छन् ।
चोरीको अभियोगमा राई विगत २१ म्हिना देखि साउदी अरबको रियादस्थित मलाज जेलमा उद्धारको पर्खाइमा बन्दि जीवन बिताइरहेका छन् । कम्पनिको काम गर्ने क्रममा उनले चलाएको मालवाहक गाडिबाट बाटोमा रोकिएर राखेको ठाउँबाट अज्ञात समूहले गाडिमा भएको तार चोरेर लगेपछि राई विरुद्ध कम्पनि मालिकले चोरीको मुद्धा हालेका थिए । अदालतले राईलाई दोषि ठहर गर्दै दुई महिनाको जेल सजाय र ५० कोर्रा हान्ने फैसला गरेको थियो । सो सजाय भुक्तान गरिसकेपछि पुनः कम्पनिमा आफु स्वदेश फर्किन चाहेको भनि राईले अनुरोध गर्दा कम्पनि मालिकले आफनो चोरी भएको सामानको क्षतिपुर्तीको माग सहित राई बिरुद्ध माथिल्लो अदालतमा पुनः मुद्धा दर्ता गराएका थिए । माथिल्लो अदालतले राईको गैरजिम्मेवारीको कारणले सामान चोरी भएको ठहर गर्दै राईलाई जन्म कैद र ३ लाख १० हजार साउदी रियाल तिर्नु पर्ने गरि फैसला सुनाएको छ ।
उनी निर्दोष हुँदा हुँदै पनि एउटै अभियोगमा दुईपटक सजायको भागिदार भएको र जरिवाना तिरेर स्वदेश फर्किन कुनै उपाय नदेखेपछि जिफन्ट सहयोग समूह साउदी अरबले उनको उद्धार गर्न १० लाख रुपैंया संकलनको लक्ष्य सहित प्रेम बचाउ अभियान सञ्चालन गरिरहेको छ ।
यो पनि पढ्नुहोस् अव एक भन्दा बढी ‘स्पोन्सरुसँग र ‘पार्ट टाइम’ काम गर्न पाइने, यस्तो छ प्रकृया
