
काठमाडौं, चैत्र ३-
बैदेशिक रोजगार परामर्शका नाममा अवैधानिक रुपमा राहदानी(पासपोर्ट) संकलन गर्ने र धेरै व्यक्तिलाई अल्झाएर राख्ने एउटा समुहलाई प्रहरीले पक्रेको छ । काठमाडौंको बालाजुमा सरल बैदेशिक रोजगार परामर्श केन्द्र नामको संस्था सञ्चालन गरेका कृष्ण के।सी भनेर चिनिएका टोप बहादुर महत लगायत चारजनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुमा महतसँगै राज कुमार श्रेष्ठ, जित सत्याल र रमेश काफ्ले छन् ।
सो समुहले बिभिन्न व्यक्तिहरुलाई बैदेशिक रोजगारमा पठाई दिन्छु भनेर गैरकानुनी रुपमा बिभिन्न व्यक्तिहरुको राहदानी र रकम संकलन गरेको र उनीहरुलाई बैदेशिक रोजगारमा नपठाई अल्झाएर राखेको प्रहरीले जनाएको छ । सो सुचना प्राप्त भएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखा तथा बैदेशिक रोजगार बिभागको टोलीले गरेको चेकजाँचमा बिभिन्न व्यक्तिहरुका राहदानी, बैदेशिक रोजगारसंग सम्बन्धीत बिभिन्न कागजातहरु सहित चार जनालाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।
उनीहरुले कुवेत, दुवई, कतार, साउदी अरब, लगाएतका देशहरुमा राम्रो रोजगारीको अवसर छ भन्ने प्रलोभनमा पारी राहदानी र प्रतिव्यक्ति एक लाख देखी दुई लाखसम्म लिएर नपठाएको पीडितले गुनासो गरेका थिए ।
सो कार्यालयबाट प्रहरी सहितको टोलीले १ सय ३२ थान राहदानी, बैदेशिक रोजगारसंग सम्बन्धित बिभिन्न कागजातहरु, विभिन्न व्यक्तिहरुको नाममा रहेको भिषाको प्रतिलिपिहरु, विभिन्न बैंकका चेकहरु बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस् आमाको विलौनाः मलेसिया गएको छोरोले हामीलाई विर्सियो की ?