
काठमाडौं, फागुन ३०-
गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका महानिर्देशकलाई बोलाएर विभागको कामबारे चासो राखेका छन् । मन्त्री थापाले सोमबार मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर ठगी र उजुरी फस्र्योटका बारेमा चासो राखे ।
वैदेशिक रोजगारीको क्रममा पीडित कामदारलाई न्याय दिलाउन सकिने कामका बारेमा योजनासमेत माग गरेका छन् । मन्त्री थापाले मलेसिया जाने कामदारलाई बायोमेट्रिक स्वास्थ्य प्रणालीको विषयमा चासो दिँदै ठगी रोक्न अग्रसरता देखाएका छन् । मन्त्री थापाले यसका लागि आवश्यक कागजात समेत विभागबाट मगाएका छन् । सरकारले तोकेभन्दा बढी रकम लिएर वैदेशिक रोजगारीमा पठाउने म्यानपवार कम्पनीलाई समेत गृह र श्रम मिलेर कारबाही गर्नुपर्ने गृहमन्त्री थापाले योजना सुनाए ।
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार विभागलाई दिइएको छ । गत वर्ष प्रहरीले म्यानपावर कार्यालयमा छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको थियो, त्यसपछि रोकिएको अनुगमन पुनः सुरु हुन सकेको थिएन ।
यसैबीच वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको अनुगमन थालेको छ । लामो समयदेखि अनुमगन नगरेपछि आलोचना खेपिरहेको विभागले मंगलबारदेखि वैदेशिक रोजगार कम्पनी(म्यानपावर) का शाखा र एजेन्टका कार्यालयमा अनुगमन गर्न थालेको हो । विभागबाट शाखा अधिकृत टंक चौलागार्इं र अनुज गौतम अनुगमनका लागि झापा पुगेका छन् ।
विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार, जिल्ला प्रशासन कार्यालय झापाको सहयोगमा झापामा खुलेका वैधानिक तथा अवैधानिक म्यानपावर कम्पनीका शाखा र एजेन्टका कार्यालयमा अनुगमन सुरु भएको हो । अनुगमनपछि अवैधानिक कार्यालय बन्द गराउने र वैधानिकलाई समेत गल्ती गरेको भेटिए कारबाही गरिने अधिकारीले बताए ।
पछिल्लो समय बदनाम बनिरहेको विभागले अनुगमन नगरेको तथा म्यानपावर कम्पनीलाई कारबाही नगरेको आरोप लागेको छ । अनुमति लिएर झापामा २५/२६ वटा म्यानपावर कम्पनीले शाखा खोले पनि अरु अवैधानिक रुपमा खुलेको पाइएको विभागले जनाएको छ । अनुगमनपछि ती म्यानपावर कम्पनी बन्द गरिने विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेसहित ४ जना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेपछि विभागको काम प्रभावित भएको थियो । त्यसपछि आएका महानिर्देशक राजकुमार श्रेष्ठ पनि दुई महिना नपुग्दै सरुवा मागेर गएका थिए ।
त्यसपछि श्रम तथा रोजगार मन्त्रालयका प्रवक्तासमेत रहेका भुवनप्रसाद आचार्य विभागको महानिर्देशकमा सरुवा भएका छन् । विभागको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका आचार्यले सुधार स्वरूप अनुगमन थालेको बताएका छन् । उनले अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएका छन् ।
विभागका अनुगमनका लागि कर्मचारी अभाव रहेकाले श्रम तथा रोजगारमन्त्री आउनासाथ आवश्यक कर्मचारी माग गरेर विभागको छवि सुधार्ने योजना रहेको महानिर्देशक आचार्यले बताए ।
यो पनि पढ्नुहोस् ६ महिना काम गर्दा जम्मा तलव ११ सय ३० रियाल !