
काठमाडौं, फागुन २३-
तत्कालीन नेकपा माओवादीकी एक पूर्वमहिला कमान्डर व्यावसायिक गाईपालनबाटै मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् । राज्य र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतापछि सेना समायोजन नरोजी स्वेच्छिक अवकाश लिएर फर्किएकी पाल्पाको तानसेन–१३ की पवित्रा गैरेले गाईपालनबाटै ठूलो रकम आर्जन गर्न सफल भएकी हुन् । उनले अहिले व्यावसायिक पशुपालनबाट दैनिक ८० लिटर दूध बिक्री गर्दै आएकी छन् ।
“स्वेच्छिक अवकाशबाट आएको पाँच लाख रुपैयाँबाट व्यावसायिक पशुपालनमा लागेकी हुँ,” गैरेले भनिन्, “अहिले मेरो गाई फर्ममा १५ वटा गाई छन्, त्यसमध्ये ९ वटाले दूध दिने गरेका छन् ।” सेना समायोजनमार्फत सेनामा गएरभन्दा आफ्नो कला र क्षमता देखाउन भन्दै उनले व्यवसाय सञ्चालन गरेको बताइन् ।
उनले दैनिक उत्पादित ८० लिटर दूध तानसेन र रिडी बजारमा लगेर बिक्री गर्दै आएकी छन् । प्रतिलिटर ५० रुपैयाँमा दूध बिक्री हुने गरेको उनले जानकारी दिइन् । अर्गली नजिकै कुरुङ्खोलामा वार्षिक ३६ हजार रुपियाँ भाडा तिर्ने गरेर १५ रोपनी जग्गा भाडामा लिएर गाई गोठ बनाएको र बाँकी जग्गामा उन्नत जातको घाँस खेती गरेको गैरेले सुनाइन् ।
व्यावसायिक पशुपालनमा उनले अहिलेसम्म १६ लाख रुपैयाँ लगानी गरेकी छन् । दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्दा मासिक एक लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताइन् । गाईको दाना, ज्यामी खर्च गरेर मासिक ४५ हजार रुपैयाँ बचत हुने गरेको उनको भनाइ छ ।
२०५९ सालदेखि माओवादी आन्दोलनमा लागेकी उनी माओवादी सेनामा हुँदा प्लाटुन कमाण्डरसम्मको जिम्मेवारी पाएकी थिइन् । माओवादी सेनाबाट अयोग्य ठहरिएका र स्वेच्छिक अवकाशमा आएका सबै साथी विदेश र कोही अन्य क्षेत्रमा प्रवेश गरे पनि पशुपालन क्षेत्रमा कोही पनि लागेको आफूलाई जानकारी नभएको उनले बताइन् । “गाउँमै केही गर्ने आँट भएर सफल भइन्छ,” उनले भनिन् । कारोवारबाट