दोहा, फागुन २०-
कतारमा नेपाली मिनरल वाटर लैजाने प्रयत्न सुरु भएको छ । सन् २०१९ सम्ममा नेपाली मिनरल वाटर ल्याउने प्रयास सुरु भएको कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले जनाएका छन् ।
गल्फ टाइम्सका अनुसार यसका लागि नेपालमा पानी प्रशोधन तथा भर्ने कारखाना निर्माणको पहल थालिएको राजदूत कोइरालाले बताएका छन् । कतारको नीजि क्षेत्रसँग यस विषयमा कुराकानी अगाडी बढिरहेको र उनीहरु निक्कै उत्सुक रहेको कोइरालालाई उधृत गर्दै समाचारमा जनाइएको छ । सम्भाव्यता अध्ययनका लागि आगामी अगष्ट वा सेप्टेम्वर महिनामा कतारी टोलीले नेपाल भ्रमण गर्ने योजना समेत बनाइरहेको समाचारमा उल्लेख छ ।
हामीसँग प्रसस्त हिमाल छन् जहाँबाट स्वच्छ मिनरल वाटर उत्पादन गर्न सकिन्छ कोइरालाले भनेका छन् । केहि नेपाली कम्पनीले हाल उच्च गुणस्तरको मिनरल वाटर विक्रि वितरण गरिरहेको भन्दै उनीहरुलाई समेत कतारमा आमन्त्रण गरेर छलफल गर्ने योजना नेपाली दूतावासले बनाएको छ ।
यसैबीच सन् २०१९ सम्ममा नेपाली समुहदायको विद्यालय कतारमा स्थापना गर्ने प्रयासमा दूतावास जुटेको छ । यसका लागि कतारी अधिकारीहरुसँग छलफल भइसकेको र कतारमा रहेको दोश्रो ठूलो जनसंख्याको नेपाली समुदायका लागि यो आवश्यक रहेको राजदूत कोइरालाले बताए । हाल कतारमा आधिकारिक रुपमा ४ लाख नेपाली कार्यरत छन् । यसैगरी नेपाली साँस्कृतिक भवन निर्माणको प्रयास पनि दूतावासले गरिरहेको जनाएको छ ।
यो पनि पढ्नुहोस् मलेसियामा लेभी काट्ने कम्पनीले थप कामदार ल्याउन नपाउने
