विदेश पठाउने भन्दै ठूलो समुहबाट पैसा ठग्दै, भाग्दै

रञ्जना लम्साल, कावासोती, फागुन १०-

नवलपरासीका भागीराम मगर, टोप वहादुर सोमै, मन बहादुर बयम्बु लगायतका ५ जना बैदेशिक रोजगारीमा जाने योजनामा थिए । उचित अवशरको खोजिमा रहेका उनीहरुलाई ठग्न टाढाको व्यक्ति आउनु परेन । केहि समयदेखि उनीहरुकै गाउँमा बस्दै आएका एक एजेन्टले उनीहरुको राहदानी र रकम उठाएर बेपत्ता भए ।

यस्तो घटना एउटा मात्र छैन । किशोर कुमार महतो, सन्तोष न्यौपाने, राम कुमार महतो, उमेश प्रसाद अधिकारी लगायत १० जनालाई त्यसरी नै अर्का एक एजेन्टले युएई पठाइदिने भन्दै रकम उठाए । तर न उनीहरुलाई युएई पठाइयो न त तिरेको रकम नै फिर्ता पाएका छन् ।

अर्को घटना हो पदमराज अधिकारी, दयाराम शर्मा, अर्जुन पौडेलको । उनीहरुसँग पनि एजेन्टले बैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम उठाएर वेपत्ता भएका छन् । यस्तै समस्याबाट पीडित छन् जंग बहादुर थापा, जंग बहादुर क्षेत्री, प्रकाश ढकाल लगायत । उनीहरुलाई एजेण्टले नै बिदेशमा धेरै कमाई हुने प्रलोभन देखाएर रकम उठाएर वेखवर भएका छन् ।

बैदेशिक रोजगारीका क्षेत्रमा समुह समुहलाई नै ठगेर ठूलो रकम उठाएर एजेन्ट भाग्ने क्रममा बृद्धि भएको छ । पछिल्लो समयमा यसरी कुनै एजेन्टबाट रकम ठगिएका र पासपोर्ट लिएर भागेको भन्दै फिर्ता गराउन सहयोग माग्दै समुहमा आउने युवाको संख्या बढेको छ । पहिले कुनै एजेन्टबाट ठगिएको भन्दै एकजना ब्यक्ति आउने गरेकोमा हाल समुह नै आउन थालेको सामी परियोजनाद्धारा सञ्चालित सुचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ ।

यस्ता घटनाहरु मध्ये अधिकाँशमा त्यसरी रकम र पासपोर्ट लिने व्यक्ति नातेदार वा गाउँमा आएर केहि समय बस्नेहरु देखिएका छन् । कतिपयले त मितेरी साईनो लगाएर कोठा भाडामा लिएर बस्ने र गाउँका धेरै युवाको रकम जम्मा पारेर ठूलो रकम उठाएर भाग्ने गरेको देखिएको छ । नातेदार वा नाता जोडेर गरिएको यस्तो ठगीमा प्रमाण नहुने हुनाले पनि धेरैजसो ठगीका पिडितहरुले न्यायका लागि उजुरी गर्न नसकेको वा उजुरी भन्दा पनि मिलापत्रको उपाय खोजेको देखिएको कावासोतीस्थीत सुचना केन्द्रका संयोजक रीतुराम सोती बताउँछन् ।

कार्यान्वयन भएन फ्रिभिषा, फ्रिटिकट

बैदेशिक रोजगारमा पठाउने र धेरै कमाउने सपना देखाएर गाउँका एजेन्टहरुले सोझा साझा युवाहरुलाई भ्रममा पारेर मोटो रकम उठाउने क्रम रोकिएको छैन । सरकारले खाडीका ६ वटा मुलुक र मलेसियामा रोजगारीका लागि जानेहरुलाई फ्रि भिषा, फ्रि टिकट उपलव्ध गराउनु पर्ने भनेर निर्णय गरेपनि हाल पनि खाडी र मलेसियामा रोजगारीमा जान चाहनेहरुले ७० हजार देखी २ लाखसम्म एजेन्टलाई बुझाउनु परिरहेको बताउँछन् ।

यसैगरी रोजगारीमा पठाइदिने भनेर एजेन्टले लिएको पासपोर्ट काठमाडौको कुनै मेनपावर कम्पनीमा लगेर बुझाउने र लामो समयसम्म रोजगारीमा नपठाएपछि फिर्ता माग्दा उल्दै रकम माग्ने गरिएको गुनासो सहितको उजुरी पर्ने गरेको सुचना केन्द्रका संयोजक सोती बताउँछन् ।

युरोपको रोजगारीको नाममा बढ्दो ठगि

पछिल्लो समयमा टर्की, पोल्याण्ड लगायतका मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ठग्नेको संख्या बढेको छ । मागपत्र आएको भन्दै लाखौं रकम माग्ने, त्यस्तो रकम कुनै बैंकिड प्रणाली मार्फत नभई हातमा नै दिनुपर्ने गरिएको गुनासो आउन थालेको हो । नवलपरासीका जीत नारायण महतोका अनुसार उनलाई त्यसरी नै मागपत्र आएको भन्दै हेर्न दिइएको तर फोटो खिच्न नपाइने भन्दै मोवाइलबाट खिचिसकेको तस्वीर समेत मेट्न लगाएको बताए । उनका अनुसार उनको समुहमा रहेका १० जनासँग सो कन्सल्टेन्सीले प्रतिव्यक्ति  ६ लाख रकम मागेको छ । यसका बारेमा उजुरी गर्न आफूसँग कुनै प्रमाण नभएका कारण चुप लाग्नुपरेको उनले बताए । 

यो पनि पढ्नुहोस् दलाल, घुस र बन्धनमा परेका युएईका कामदार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय