
पात्र १ मोनिक खनाल, बुटवल हाल युएई
एक बर्षको श्रम थियो । आउन कसो नपाईएला भनेर डराई डराई एक महिनाको बिदामा नेपाल गएँ । जव बिदा सकियो अनी युएई फर्किन नेपालमा एयरपोर्ट पुगें । तर त्यहाँबाट म घरेलु कामदारको भिषामा आउन नपाउने भन्दै रोकियो । मसँग नै आएका अरु दिदिबहिनीहरुलाई रोकएन । तर मलाई मात्र रोकियो । कारण उनीहरुले घुस ख्वाएका रहेछन् । यहि विषयमा कुरा गर्न मैले माथिल्लो तहका कर्मचारीसँग पनि कुरा गरें । तर उनले नेपाल सरकारले बनाएको नियम भएका कारण जान दिन मिल्दैन भनेर पन्छिए । तर मलाई कहिले भोलि आउनुस्, कहिले के भन्दै अलमलमा पार्ने क्रम चलिरह्यो । सायद त्यो घुस खान खोजिएको थियो । तर म उनीहरुलाई पैसा खुवाएर आउने पक्षमा थिइन किनकी मैले कुनै गलत काम गरेको थिइन् । केहि नलागेपछि म दिल्ली हुँदै दुवई उत्रिएँ । १ लाख २५ हजार खर्च भयो ।
उमेरले म ४० कटेकी महिला हुँ । आठ बर्ष देखि दुबईमा काम गरिरहेकी छु । मेरो काम पनि राम्रो छ । कमाईरहेकी छु, पैसा घर पठाइरहेकी छु । मलाई काममा कुनै समस्या छैन । तर आफ्नो देश जान र पुनः आउन यति दुःख छ कि यो दुःख कसलाई सुनाउँ ?
पात्र २ जमुना अधिकारी, स्याङजा, हाल युएई
म १ लाख ७० हजार नेपालमा घुस ख्वाएर दुवई उत्रिएकी हुँ । मैले पैसा नदिंदा मेरो पहिले टिकट रद्ध गर्नुपर्यो । म लामो समयदेखि युएईमै कार्यरत भएपनि र पुनः सोही काममा आउन चाहँदापनि मलाई रोकियो । घरेलु काममा आउन नयाँ व्यक्तिलाई रोक लगाएपनि हामीजस्त बर्षाैंदेखि यहिं काम गरिरहेकाहरुलाई नरोक्नु पर्ने हो । किनभनें काम अप्ठ्यारो भए र आफूलाई जोखिम हुनेभए हामी यसरी पुनः काममा आउने थिएनौं । त्यसैले यो घरेलु काममा आउन सवैलाई रोक्ने भनेको दलाललाई धनी बनाउने र हामीजस्ता श्रम गर्न आउनेलाई अझ गरिव बनाउने काम हो ।
यी पात्रहरु जो हाल युएईमा कार्यरत छन् उनीहरुले भोगेको समस्याले नेपाल सरकारले घरेलु कामदारका रुपमा श्रम स्वीकृति दिन लगाएको रोकले पारेको प्रभाव छर्लङ्ग हुन्छ । एकातिर सहज काम र राम्रै कमाई हुने ठाउँमा पुनः रोजगारीमा आउन यसले बन्देज लगाएको छ भनें अर्कातिर यो बन्देजका नाममा दलाली गर्नेहरु र केहि सम्वन्धित ठाउँमा कार्यरत सरकारी कर्मचारीको कमाई खाने भाँडो भएको छ ।
बन्देजले बन्धक बनाएपछि
यति मात्र होइन यहि बन्देजका कारण थुप्रै नेपाली महिला जो घरेलु कामदारका रुपमा खाडी मुलुकमा कार्यरत छन् र उनीहरु पुनः रोवजगारीका लागि आउन चाहन्छन् उनीहरु बन्दी जस्तै जीवन काट्न बाध्य छन् । बुटवलकी रुवी राना त्यस्तै एउटी पात्र हुन् ।
हाल युएईमा कार्यरत रुवीका बाबु सिकिस्त बिरामी परे । तर उनी नेपाल जान सकिनन् । कारण उहि बन्देज थियो । पुनः रोजगारीका लागि युएई आउन सकिन्न भन्ने त्रासका कारण दोधारमै उनी युएईमा अल्झिरहँदा केहि महिनाको उपचार पछि उनका बाबुको निधन भयो ।
कुराकानीको क्रममा आँशु झार्दै उनले भनिन्ः यदि सरकारले पुराना कामदारहरुलाई काममा आउनजानमा कुनै रोकतोक नगरेको भए मैले बाबाको अन्तिम पटक मुख देख्न पाउने थिएँ ।
बुटवलकै रोजी खड्काको पीर कम छैन । लामो समयदेखि युएईमा कार्यरत उनको एउटा छोरो छन् जो हाल विरामी छन् । आमाको मनमा छटपटि चलिरहेको छ । तुरुन्त घर पुग्न मन छ उनलाई । तर पुनः रोजगारीमा युएई फर्किन पाइएला वा नपाइएला र पाएमा पनि दलाललाई कति पैसा खुवाउनु पर्ने हो भन्ने ठेगान नभएका कारण छोराको सम्झनामा आँसु बगाउँदै आफू बसिरहेको उनी बताउँछिन् ।
घरेलु कामदारका रुपमा आउन पाउनेगरी पुनः श्रमस्वीकृति दिने हल्ला चलेको छ युएईमा । केहि दिन अगाडि दुबईमा भएको एक सामाजिक कार्यक्रममा नेपाली दुतावासका कर्मचारीले अव छिट्टै नै श्रम स्वीकृति खुल्ने जानकारी पाएको बताएपछि यसले युएईमा कार्यरत घरेलु कामदारहरुलाई खुशी तुल्याएको छ । तर त्यो छिट्टै कहिले हो यकिन छैन ।
आफ्ना नागरिकको सुरक्षा र उनीहरुको रोजगारी मर्यादित बनाउन राज्यले चासो लिनु र सो अनुरुपको व्यवस्था मिलाउनु राज्यको दायित्व नै हो । तर यसरी निर्णय गर्दा अधिकतम लाभ कसरी लिन सकिन्छ भनेर पनि हेर्नु जरुरी छ । नयाँ व्यक्तिलाई र नयाँ ठाउँमा पठाउँदा आइपर्ने जोखिम कसरी न्यूनिकरण गर्ने भनेर सरकार चनाखो हुनै पर्दछ । तर खाडि मुलुकमा लामो समयदेखि घरेलु कामदारका रुपमा कार्यरतहरुलाई अन्याय हुनेगरी बन्देज लगाइनु भनें सर्वथा अनुचित छ । त्यसैले सरकारले यस बिषयमा छिट्टै आँखा खोलोस ।
यो पनि पढ्नुहोस् बरदुबईको लभ डाडो रक्सिको अखडा !