‘विदेशमा तँ कोसँग बसिस् ?’

रञ्जना लम्साल-

कुरा रमा नेपालीबाट शुरु गरौं । नेपालमा १२ कक्षा सकेर जागिरको खोजीमा रहेकी रमा रोजगारीका लागि युएई पुगिन् । काम राम्रो थियो । कमाई पनि । महिनामा एक लाखको हाराहारी कमाउँथिन् । युएई बसाईमा बेखुशी हुनुपर्ने कुनै कारण थिएन ।

बिदेश गएर कमाउन थालेको २ बर्ष पछि नेपालमा जागिर खाँदै गरेको युवकसँग उनको बिवाह हुने कुरा चल्यो । उनले युएईबाट नै केटासँग कुरा गरिन् । कुरा मिल्यो अनि बिदामा नेपाल आईन र उनको विवाह भयो ।

विवाह गरेको एक महिना पछि उनका श्रीमानले बिदेशमा गर्ने गरेको कामको बारेमा अनेकथरी प्रश्न गर्न थाले । भर्खरै बिवाह गरेकी श्रीमतीसँग लोग्नेले बिदेशमा महिलाहरु चरित्रहिन हुन्छन् रे, पैसाको लागि शरिर बेच्न पछि पर्दैनन् रे भन्दै नजानिदो पाराले घोचपेच गर्न थाले । बिदेश गएका सबैलाई त्यसरी हेर्नु हुँदैन, राम्रा काम पनि हुन्छन् भनेर सम्झाउने प्रयास गर्थिन रमा । यहिबीचमा रमा पुनः युएई गइन् । तर फोनमा पनि उनीमाथी शंकालु पाराले घोचपेच गर्ने क्रम जारी नै रह्यो ।                                                                                   

रमाका सामु दुईटा बिकल्प बाँकी रहे । की जागिर छोडेर नेपाल फर्केर घरै बस्ने वा श्रीमान छोड्ने । आफु गलत नहुँदा नहुँदै पनि उनलाई गरिरहेको काम छोड्न मन मानेन । कामै छोडे पनि भविष्यमा राम्रो ब्यवहार हुन्छ र भविष्य राम्रो हुन्छ भन्ने ग्यारेन्टी नहुने देखेपछि सम्बन्ध बिच्छेद गर्न रमा हाल नेपाल आएकी छन् ।

अर्की पात्र हुन सभ्यता क्षेत्री । उनी घरेलु कामका लागि श्रीमानको सहमतिमा नै कुवेत पुगिन । काम र कमाई राम्रो थियो । दुईजना बच्चा हेर्ने र खाना पकाउने उनको जिम्मेवारी थियो । महिनाको ३० हजारको हाराहारीमा उनले श्रीमानलाई पैसा पठाउँथिन । घर परिवार राम्रोसंग नै चलिरहेकै थियो ।

उनी दुई बर्षे करार अवधी सकेर नेपाल फर्किईन । बिदेशमा हुँदा राम्रो ब्यवहार गर्ने श्रीमान्ले नेपाल फर्किएको केहि समय पछि बिदेशमा कोसँग बसिस्, घर मालिकलाई रिझाउन उसैसँग शारीरीक सम्बन्ध राखिस् जस्ता कुराहरु गरेर दिनहुँ निहुँ खोज्ने र मानसिक र शारीरिक यातना दिन थाले । दिनहुँको यो समस्याबाट मुक्ति पाउन हाल उनी श्रीमानसँग छुट्टिएर २ छोराछोरी लिएर बसेकी छन् ।

यी त हाम्रो समाजमा भएको प्रतिनिधि उदाहरण मात्र हुन । बैदेशिक रोजगारका क्रममा राम्रो काम गरिरहेका महिलाहरु पनि त्यसको मारमा परिरहेका छन् । आफु सक्षम हुँदाहुँदै पनि आफन्तको निकृष्ट व्यवहारको शिकार भएका धेरै महिलाहरु पिडित भएर बाँच्न बाध्य छन् । महिला प्रतिको दृष्टीकोणमा परिवर्तन नभएसम्म यो अवस्था फेरिने पनि छैन ।

मुलुकमा व्याप्त वेरोजगारीका कारण नेपालबाट रोजगारीको खोजिमा विदेशिने युवाहरुको संख्या ठूलो छ । पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने नेपाली महिलाको संख्या पनि ठूलो छ ।

यसरी विदेशिने चाहे महिला हुन् वा पुरुष उनीहरु आफ्नो र परिवारको सुन्दर भविष्यको सपना वोकेर वैदेशिक रोजगारीमा गईरहेका छन् । तर विडम्बना बिदेश गएका पुरुषलाई हाम्रो समाजले न उसको काम हेर्छ न त साथीसंगी नै । उ कोसँग बस्छ, केमा काम गर्छ कसैलाई त्यसको चासो हँुदैन । तर महिलाको विषयमा मानक फरक छ । महिलाले पुरुषको आँखा पछाडी गरिएको सहि र राम्रा काम पनि गलत छन् भन्ने प्रमाणीत गर्न समाज लागि परिरहन्छ । अनी महिला म सहि हुँ र छु भन्नका लागि अनेकौ अग्नी परिक्षाबाट गुज्रिन परिरहेको छ ।

हाम्रो समाजमा बिदेशबाट फर्किएकी अझ खाडीबाट फर्किएको महिलाको बिषयमा ठुलै बहस चल्छ । तर पुरुषको बारेमा कसैले केहि भन्ने हिम्मत गर्दैन । मलेशियाबाट १२ बर्ष पछि फर्किएको पुरुषलाई तैले त्यहाँ के गरिस् भनेर न उसकी श्रीमतीले प्रश्न गर्ने हिम्मत राख्छिन् न त समाजले नै यो प्रश्न उठाउँछ । तर महिला बैदेशिक रोजगारमा दुई वा तीनबर्ष काम गरेर फर्किंदा प्रश्नका बाँणहरु तयार हुन्छन् । त्यो प्रश्न सोध्न श्रीमान्, सासुससुरा वा गाउँका अन्य तम्तयार हुन्छन् । यहि व्यवहारले घरहरु भत्कीएका छन्, परिवारहरु टुक्रिएका छन् ।

मान्छे विग्रिन विदेश पुग्नु पर्दैन । र, विदेश पुग्ने वित्तिकै गलत बाटोमा हिंड्ने पनि होइन । यो यथार्थलाई जवसम्म स्वीकार गरिन्न, जवसम्म महिलालाई यौनिक दृष्टिकोणबाट मात्र हेरिन्छ र बैदेशिक रोजगारमा महिलाको भूमिकाका बारेमा राम्रोसँग बहस गरिन्न, यो समस्या न्यून हुन्न । त्यसैले यस विषयमा पर्याप्त बहसको खाँचो छ ।

यो पनि पढ्नुहोस् घाइते हुँदा समेत छोडेन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय