अम्विका दाहाल, खोटाङ, माघ २८-
मलेसियामा कार्यरत खोटाङ रतन्छाका २७ बर्षिय रोशन बिकलाई घाईते हुँदा पनि कम्पनीले काम गर्न बाध्य बनाएको छ । काम गर्ने क्रममा लडेर भाँचिएको खुट्टा ठीक नभएकै अवस्थामा पनि बिकलाई काम गर्न बाध्य पारिएको हो ।
६ महिना अघि मलेसियाको मिनीउड कम्पनीमा काम गर्न पुगेका बिकको सोही कम्पनीमा काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो । मेनपावर कम्पनीबाट कार्पेण्टरको काम भनेर पठाए पनि उनलाई पेण्टिङको काममा लगाइएको थियो । खुट्टा भाँचिएपछि पनि ‘पैसा चाहिए काम गर्’ भन्दै आराम गर्न नदिने गरेको पीडित बिकको दुखेसो छ । काम नगरे भोकै बस्नुपर्ने अवस्था आउने रोशनले बताएका छन् ।
शुरुमा उपचार नै नगराएको कम्पनीले सात दिनपछि अस्पताल लगेको साथै काम गर्न लगाएको रोशन बिकले बताए । राम्ररी उपचार समेत नभएको बताउने पीडित विकका अनुसार मेनपावर कम्पनीले मासिक १ हजार रिङ्गेट बेसिक तलब पाउने भनेर पठाए पनि मलेसियाको कम्पनीले भने दैनिक ज्यालादारीमा काम लगाउने गरेको छ । नेपालमा भएको सम्झौता पत्रमा कार्पेण्टरको काम उल्लेख भए पनि सो बमोजिमको काम र दाम नपाएको पीडितले जनाएका छन ।
घाईते भएपछि मलेसिया पठाउने कम्पनी लिंकस्टार मेनपावरमा नेपाल फर्कनका लागि सम्पर्क गर्दा समेत बेवास्ता गरेको उनले बताएका छन् । घर फर्कनका लागि पहल गरि माग्दा उल्टै लेबी, भिषा लगायतको खर्च करिब पाँच सय रिङ्गेट कार्यरत कम्पनीलाई बुझाउनुपर्ने मेनपावरले सर्त राखेको छ । उता, काम गर्ने कम्पनीमा नेपाल फर्काईदिन आग्रह गर्दा ‘तेरो एजेण्टलाई भन्’ भन्ने जवाफ दिने गरेको रोशनले बताए ।
दैनिक ज्यालादारी बापतको रकम पनि नदिने कम्पनीले खानाका लागि साप्ताहिक ६० रिङ्गेट दिने गरेको पीडितको भनाई छ । उक्त रकमले ४ दिन पनि खान नपुग्ने गरेको रोशनले बताए ।
काम भएको दिन जवरजस्ती काम गर्न बाध्य पार्ने उक्त कम्पनीमा प्रायःजसो कामै नहुने रोशनले बताए । सोही कम्पनीमा काम गरेर बस्नलाई खाना समेत नपुग्ने भन्दै नेपाल फर्काई माग्न रोशनले सहयोग मागेका छन् ।
यता, मेनपावर कम्पनीमा कार्यरत तारामणी राईले भने मेनपावर कम्पनीको गल्ती नभएको तर्क गरे । रोशनलाई उपचार र खाना–बस्नको लागि अप्ठ्यारो भए आफुले रकम पठाईदिने भन्दा–भन्दै पनि नेपाल फर्कनमा जोड गरेकाले समस्या भएको उनी बताउँछन् । राईले आफुले पठाउँदा गरिएको प्रक्रिया र सम्झौता अनुसार नै काम भईरहेकोमा लडेर घाईंते भएपछि नेपाल फर्कन हतार गरेपछि समस्या आएको बताए ।
हाल रोशनको आफन्तले मेनपावर कम्पनीले ठगी गरेको भन्दै वैदेशिक रोजगार बिभागमा कानुनी उपचारको लागि मुद्दा दर्ता गराएका छन् । भनेको काम र दाम नपाएको, उपचार पनि राम्रो नभएको भन्दै रोशनले सदरमुकाम दिक्तेल स्थीत सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा उद्दारको लागि सम्पर्क गरेका छन् ।
उद्दार तथा कानुनी उपचारको लागि आग्रह गरेपछि सूचना केन्द्रले परामर्श दिई बिभागमा मुद्दा दर्ता गराएको छ । हाल पनि रोशन निरन्तर सूचना केन्द्रको सम्पर्कमा आई चाँडो उद्दारको लागि पहल गरिदिन आग्रह गरिरहेको केन्द्रले जनाएको छ ।
यो पनि पढ्नुहोस् जो स्वदेशमा नै महिनामा सवा लाख कमाउँछन्
