
क्वालालम्पुर, माघ २२-
मलेसियामा जनवरीदेखि कामदारको तलवबाट लेभी काट्न नपाइने सरकारी निर्णयको कतिपय कम्पनीहरुले पालना गरेपनि अझै पनि थुप्रै कम्पनीहरुले तलवबाट नै लेभी काटेको भन्दै सहयोग माग्ने नेपालीको संख्या बढेको छ । लेभी काटिएमा फोन गरेर सहयोग माग्न देशपरदेशले स्थानीय यूनियन, एमटीयूसीको फोन नम्वर उपलव्ध गराएपछि धेरै नेपालीले त्यहाँ फोन गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।
एमटीयूसी अन्तर्गतको एमआरसी संयोजक जुल थेका अनुसार हालसम्म सयौं नेपालीले त्यस्तो सहयोगका लागि आग्ह गरेको र दैनिक ठूलो संख्यामा फोन आइरहेको बताएका छन् । तर मले वा अंग्रेजी भाषा नजान्ने नेपालीले फोन गर्दा केहि समस्या परिरहेको भन्दै उनले कुराकानीका लागि एमटीयूसी अन्तर्गतको हेल्प डेस्कको अन्य नम्वरहरु दिने गरेको बताए । उनले मध्यरातमा, विहानै समेत फोन आउने गरेको भन्दै कार्यालय समयमा फोन गर्न आग्रह गरे । त्यसरी फोन गर्नेहरुलाई उनीहरुको कम्पनीको नामसहितको विवरण टिप्ने गरिएको र लेभी कामदारबाट नकाट्नका लागि आवश्यक कारवाहीका लागि प्रकृया गर्ने गरिएको थेले बताए ।
तपाई मलेसियामा हुनुहुन्छ र तपाई कार्यरत कम्पनीले अझै पनि तपाईको तलवबाट लेभी काटिरहेको भएमा यी नम्वरहरुमा फोन गर्न सक्नुहुन्छ ।