
काठमाडौँ, माघ १७- आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ ।
साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विदेशीले अवसर नपाउने भएका हुन् । साउदीले १२ वटा क्षेत्र र ओमनले ८७ वटा पेसामा विदेशी कामदार राख्न नपाउने नीति लागू गरेको हो ।
घडी, चस्मा, मेडिकल औजार तथा उपकरणहरू, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक उपकरणहरू, गाडीका पार्टपुर्जा, निर्माण सामग्री, कार्पेट,गाडी तथा मोटरसाइकल, घर तथा कार्यालयका फर्निचर, बच्चाका लुगाफाटा तथा पुरुषका सरसामान, घर तथा भान्सामा प्रयोग हुने भाँडाकुँडा र चकलेट बेच्ने पसलमा विदेशी कामदार राख्न नपाउने निर्णय लिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । यसअघि जनवरीदेखि नै साउदीले १९ वटा पेसामा विदेशी कामदारको भिसा नवीकरणमा रद्द गर्नुको साथै नयाँ आपूर्ति बन्द गरिसकेको छ ।
ओमनका जनशक्तिमन्त्री अब्दुल विन नासिर विन अब्दुल्लाह अल बर्खीले ८७ पेसाका लागि आगामी ६ महिनाका लागि नयाँ भिसा जारी नगर्ने निर्णय लिएका छन् । मन्त्री बर्खीले सूचना प्रणाली, मिडिया, प्रविधि, हवाई उडान, लेखा र अर्थ, इन्जिनियर, बिमा, मार्केटिङ, मेडिकल र मानव संसाधन क्षेत्रका ८७ पेसाका लागि भिसा जारी नगर्ने जानकारी दिए । यी पेसामा झन्डै २५ हजार ओमनी नागरिकलाई व्यवस्थापन गर्ने ओमन सरकारको योजना छ । कान्तिपुरबाट