अम्बिका दाहाल, खोटाङ, पुष २८-
वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाएका कारण बिचल्लीमा परेका छन् । काठमाडौंस्थित प्रोगेसिभ मेनपावर कम्पनीमार्फत प्रतिव्यक्ति ७५ हजार देखि १ लाख १० हजारसम्म रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम–दाम नदिनका साथै स्वदेश फर्कन समेत रोकेपछि बिचल्लीमा परेका हुन् ।
टायल मेसनको लागि भनेर डेढ महिना अघि कतारको सेटलाईट ईन्टरनेशनल कम्पनी पुगेका राईद्वयले खाना खाने रकम समेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले नेपाल फर्किन समेत नदिएको टेलिफोन मार्फत बताए । कम्पनीले हाललाई काम नभए पनि केही दिनपछि काम हुने भन्दै घर फर्कन समेत रोकिरहेको धनकुमार राईले बताए । राईले सेटलाईट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि नेपालको मेनपावर कम्पनीमा भनिए भन्दा अप्ठ्यारो हुने बताएका छन् । कम्पनी टाट पल्टिएकोले गर्दा काम–दाम नपाएको बताउने धनकुमारका अनुसार काम शुरु हुन साथ काममा लगाउने र तलब दिने भन्दै कम्पनीले उनीहरुलाई जबरजस्ती रोकिरहेको छ ।
बिचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुबिधा नदिने कम्पनीले बताएको छ । हाल बसेको तथा खाएको रकम काम शुरु भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितहरुले बताएका छन् ।
ऋण लिएर कतार गएका राईद्वयले बिचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि खोटाङ स्थीत सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन् । सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको दिक्तेलबजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले तत्कालै नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरे ।
अरुण र धनकुमारसँगै उक्त कम्पनीमा काम गर्न पुगेका नवलपरासीका भमबहादुर मगर, उदयपुरका दिपबहादुर माझी र कैलाली टिकापुरका नन्दसिंह साउद समेत बिचल्लीमा परेका छन् ।
वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपि समेत कामदारहरुसँग नभएको परिवारका सदस्यले बताएका छन् । उनीहरुको उद्धारका लागि सूचना केन्द्रले वैदेशिक रोजगार बिभागमा पहल सुरु गरेको सुचना केन्द्रले जनाएको छ ।
खानाको लागि दिएको रकम अर्कैले लिएर फर्के
आफ्नो मेनपावर कम्पनीबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेका प्रोगेसिभ मेनपावर कम्पनीका निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर नेपाल फर्केका छन् । आफुहरुलाई खाना खाने समेत रकम नभएपछि कम्पनीले खानाको लागि भनेर दिएको ५ सय रियाल मध्ये सवैको ३ सयका दरले श्यामले आफैले लिएर नेपाल फर्केको पीडितले बताएका छन् । सूचना केन्द्रबाट सो कम्पनीका मुदिर(व्यवस्थापक)लाई टेलिफोन सम्पर्क गर्दा कामदारलाई खानाको लागि रकम दिएको भए पनि मेनपावर कम्पनीको निर्देशकले बेईमानी गरेको बताए ।
यो पनि पढ्नुहोस् म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न