काठमाडौँ, पुष १८—
खाडीका मुलुकहरु संयुक्त अरव ईमिरेट्स तथा साउदी अरेवियाले हिजो (सोमवार)देखि मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि यसले कामदारलाई कस्तो प्रभाव पार्छ भनेर सवैको चासो देखिएको छ । तेलको मूल्यमा आएको गिरावटका कारण केहि बर्षयता आर्थिक जटिलता खेप्दै आएका यी खाडी मुलुकले राजश्व बढाउने उपाय स्वरुप भ्याट लागु गरेका हुन् । अधिकाँश बस्तु र सेवामा ति मुलुकले ५ प्रतिशत भ्याट लगाएका हुन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार दुवै मुलुकमा खाद्यान्न, पानी, लत्ताकपडा देखि पेट्रोलसम्ममा भ्याट लागु भएको छ । यसैगरी होटलमा बस्नेहरुले पनि अवदेखि अतिरिक्त ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।
ति मुलुकमा अव आप्रवासी कामदारको खर्च केहि मात्रामा बढाउनेछ । खाद्यान्नमा भ्याट लागुभएपछि सोझै हाल भइरहेको खर्चमा बृद्धि हुनेछ । खाडीका मुलुकमा कामदारलाई बस्ने सुविधा दिइएपनि खाना आफैंले किनेर खानुपर्दछ । यसैगरी लत्ताकपडामा पनि भ्याट लागु भएका कारण कपडाको खरिदमा पनि अतिरिक्त रकम तिर्नुपर्नेछ । पेट्रोलमा लागु भएको भ्याटले आफैं पेट्रोल हालेर गाडी चढ्ने आप्रवासी कामदारको पनि खर्चमा बृद्धि हुनेछ ।
यी दुई मुलुकले प्रारम्भीक चरणमा सन् २०१८ देखि भ्याट लागु गरेका छन् । खाडीका अन्य मुलुकहरू कतार र कुवेत लगायतले आगामी बर्षदेखि भ्याट सुरु गर्ने बताएका छन् ।
यो पनि पढ्नुहोस् रिंगिटको भाउ २५ माथि नै, कमजोर हुँदै रियाल, दिराम
