काठमाडौं, पुष १६-
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु. १५ हजार बनाउनु पर्ने मान्यतामा रहेको बताएका छन् । उनले श्रमिकको कमाइले एउटा सानो परिवारको जीविकोपार्जन हुनुपर्ने भन्दै त्यसका लागि सरकार कटिवद्ध रहेको बताए ।
संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी)को चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हालको न्यूनतम ज्याला ९ हजार ७ सयलाई बृद्धि गर्न आवश्यक रहेको धारणा राखे । उनले आफू नेतृत्वको सरकारले संसदबाट सामाजिक सुरक्षा ऐन र श्रम ऐन पारीत गराएको स्मरण गर्दै मजदूरको समुन्नत जीवनका लागि नेपाली काँग्रेस सदैव प्रतिवद्ध रहेको बताए ।
महिला र पुरुषबीच ज्यालामा कुनै भेदभाव हुन नहुने भन्दै प्रधानमन्त्री देउवाले कानूनबाट नै त्यसलाई स्पष्ट पारिएको बताए । उनले मुलुकभित्रै सीप विकास गरी नेपालीलाई रोजगारीको अवशर सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
यसअघि बोल्दै जिफन्टका अध्यक्ष विष्णु रिमालले हालको ज्याला श्रमिकका लागि जीवनयापनका लागि समेत पर्याप्त नभएको भन्दै त्यसमा ठूलो सुधारको खाँचो औंल्याएका थिए । अध्यक्ष रिमालले हाल पाइरहेको पारिश्रमिक महिना पारीसम्म पुग्ने नभइ महिना वारी नै सकिने गरेको भन्दै सरकारले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिने अपेक्षा प्रकट गरे । श्रम ऐन र सामाजिक सुरक्षा ऐन जारी हुनु महत्वपूर्ण उपलव्धी भएको भन्दै अध्यक्ष रिमालले अव त्यसको प्रभावकारी कार्यान्वयनका लागि जुटनु आवश्यक भएको धारणा राखे ।
यसैगरी नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले श्रम ऐन, सामाजिक सुरक्षा ऐन तथा संविधानले नै श्रमिकका पक्षमा धेरै महत्वपूर्ण व्यवस्था गरेको भन्दै अझै पनि केहि विषय समेटिन आवश्यक रहेको बताए । उनले श्रम आयोगको गठन तथा कार्यथलोबाट मतदानको अधिकारको व्यवस्थाका लागि ट्रेड यूनियनहरुले आवाज उठाउने बताए । हालै सम्पन्न निर्वाचनमा थुप्रै कर्मचारी तथा म्यादी प्रहरीहरुले मतदान गर्न नपाएको स्मरण गर्दै उनले पहिलो चरणमा नेपाल भित्रका कार्यथलोबाट मतदानको व्यवस्था गर्न माग गरे । यसैगरी हाल लाखौं व्यक्ति बैदेशिक रोजगारमा रहेको भन्दै उनीहरुको मतदानको अधिकार पनि सुनिश्चित गरिनुपर्ने अध्यक्ष दाहालको भनाई थियो ।
सो अवशरमा अखिल नेपाल ट्रेड यूनियन महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मी, कोनेपका अध्यक्ष विश्वनाथ प्याकुरेल, ट्रेड यूनियनका नेताहरु ईन्द्रदेव मिश्र, पल्टन ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
यो पनि पढ्नुहोस् कतारको उपहार, बाँकी जीवन काट्ने बैशाखी
