कतारको उपहार, बाँकी जीवन काट्ने बैशाखी

रञ्जना लम्साल, नवलपरासी, पुष १६-

उमेरले ५० पुगे भोजराज खाँड ठकुरी । बैदेशिक रोजगारीका लागि कतारमा ९ बर्ष विताएर फर्केका । ९ बर्ष कतारमा पसिना बगाउँदा उनले के पाए त ? केहि कमाए पनि होला । तर साथैमा आयो बैशाखी पनि । बाँकी जीवन काट्न सहयोगि बनेर ।

बैदेशिक रोजगारको यात्राको कारण उहि हो । खेतीपाती गरेर परिवार चलाउँदै आएका भोजराजका छोराछोरी हुर्किंदै थिए । खेतीपातीले मात्रै घर चलाउन समस्या पर्न थाल्यो । त्यसपछि खर्च जुटाउन अरुको देखासिकी गर्दै उनले पनि कतारको बाटो पक्रिए ९ बर्ष अगाडी ।

बैदेशिक रोजगारमा जान कम खर्चिलो छैन । एजेन्टलाई १ लाख १० हजार बुझाए । ९ बर्ष अगाडीको त्यति रकम चानचुने थिएन । त्यसैले कतारमा १ बर्ष बगाएको पसिना त्यहि कतार जान लिएको ऋण तिर्न ठिक्क भयो । जव उनी गएकै कम्पनीमा २७ हजार तिरेर अरु मान्छे आउन थाले, अनी उनले बुझे आफू ठगिएँछु भनेर ।

उमेर उकालो लाग्दै थियो । तर नेपालमा छोराछोरी विद्यालय तहकै पढाईमा थिए । त्यसैले उनी कतारमा नाथुर(चौकीदारी) को काम गर्न बाध्य थिए । कतारको बसाई लम्व्याउनुको विकल्प पनि थिएन उनीसँग । नाथुर भइरहे उनी ।

तर दिन सधैं उस्तै चल्दैन । त्यहि दिन विग्रियो भोजराजको । ड्युटी सकेर तरकारी किन्न गएका उनलाई पछाडीबाट गाडीले ठक्कर दियो । शरिरको देब्रे भागमा चोट लाग्यो । देब्रे खुटृा, देब्रे हात, कम्मर सबै भाँचियो । र, भाँचियो उनको बाँकी सपना पनि ।

१८ दिन अस्पताल बसेपछि उनको शरिरको पटृी त खुल्यो तर अव एउटा साथि उनको जीवनमा थपिइसकेको थियो, बैसाखी । दुर्घटना भएको ५ महिना बितिसक्दा पनि न त्यो बैसाखीले उनलाई छोड्यो न त उनले नै बैसाखीलाई छोड्न सकेको छन् । 

हुन त यसरी दुर्घटनामा परेका थुप्रै नेपाली विदेशमा उपाचर नपाएर हारगुहार गरिरहेको भेटिन्छन् । तर भोजराजको हकमा भनें त्यस्तो भएन । कम्पनीले नै उनको उपचार गरायो । र अस्पतालबाट निस्केपछि कम्पनीले नै टिकट काटेर नेपाल पठाइदियो ।

अस्पतालको बसाई त सकियो । तर समस्या सकिएको छैन । देब्रे खुटृा विस्तारै सुक्दै गएको छ । त्यसैले उनलाई अव बैशाखी स्थायी सहारा पनि बन्ने हो की भन्ने पिरले सताउँदै लगेको छ । सुक्दै गएको खुट्टासँगै अव छोराछोरलाई कसरी पढाउने र पालनपोषण गर्ने भन्ने चिन्ता थपिंदै गएको छ । शरिरले साथ दिए त अझै पनि गाउँमा खनीखोस्री गरेर खाने केहि जमिन थियो । तर  अव त्यो पनि गर्न सकिएन भनें के गर्ने भन्ने चिन्ता छ उनलाई ।

बिदेशमा त्यसरी दुर्घटनामा परेपछि केहि रकम सहयोग पाइएला की भनेर आश पनि गरेका थिए उनले । त्यसैले केहि दिन बस्ने मनसाय थियो उनको । तर कम्पनीले फेरी आउने गरी नेपाल जा भनेर पठाइदियो । जव उनी नेपाल आइपुगे कम्पनीले उनको फोन उठाउनै छोड्यो । त्यसैले कुरै नगरी कतार उत्रिने कुरा पनि भएन । अलमलमा छन् उनी ।

कतारमा गरेको उपचार पर्याप्त थिएन उनलाई । त्यसैले नेपाल फर्केपछि उपचारमा नै १ लाख भन्दा बढी खर्च भइसक्यो । श्रम अवधिभित्रै त्यसरी दुर्घटनामा परेमा नेपालबाट पनि आर्थिक सहायता पाइन्छ भन्ने उनलाई थाहा थिएन । छिमेकीले सुचना केन्द्रमा जानु, त्यहिबाट धेरै कुरा थाहा पाइन्छ भनेपछि उनी आइपुगेका थिए कावासोतीस्थीत सुचना केन्द्रमा ।

सुचना केन्द्र मार्फत उनको निवेदन, कागजात सवै जम्मा पारेर क्षतिपुर्तिका लागि बैदेशिक रोजगार प्रबद्र्धन वोर्ड र सुर्य लाईफ ईन्सुरेन्समा पठाएको छ । उनले ३० हजार आर्थिक सहायता पाउने जानकारी बोर्डले दिएको छ  । ईन्सुरेन्स कम्पनीमा भनें प्रकृयामा रहेको छ । 

यो पनि पढ्नुहोस युएईलाई नेपालद्धारा ट्राञ्जिटमा कडाई गरिदिन आग्रह, श्रम सम्झौताको तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: