काठमाडौं, पुष १४-
नेपाल र युएईबीच श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । युएईले नेपालसमक्ष फिलिपिन्स र श्रीलंकासँग गरिएको द्धिपक्षिय श्रम सम्झौताकै मोडलमा सम्झौता गर्न प्रस्ताव गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन आचार्यका अनुसार युएईको प्रस्ताव यसअघि गरिएको एमओेयू भन्दा धेरै हिसावले नेपाली कामदारको हितमा छ । कामदारको अधिकार बढी सुरक्षित हुने गरी युएईले प्रस्ताव पठाएको उनले बताए । नयाँ सम्झौतामा कार्यथलोमा हुने दुर्घटनाको बीमाको प्रस्ताव गरिएको छ भनें घरेलु कामदारको रोजगारीलाई बढी सुरक्षित हुने प्रावधान समेटिएको आचार्यले बताए । युएईले पठाएको प्रस्ताव राय सुझावका लागि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालय तथा कानून मन्त्रालयमा पठाएको छ ।
युएईको श्रम सम्झौताको प्रस्ताव प्राप्त भएसँगै नेपालले युएईलाई नेपालीलाई ट्राञ्जिट सुविधामा कडाई गरिदिन आग्रह गरेको छ । मानव तस्करहरुले युएई हुँदै विभिन्न मुलुकमा नेपाली कामदारलाई पुर्याउने कार्य जारी रहेको हुँदा नेपालले त्यस्तो आग्रह गरेको हो । युएईमा नै भिजिट भिषामा गएर अलपत्र पर्नेहरुको संख्या पनि ठूलो छ । युएईलाई ट्राञ्जिट बनाउन कडाई गर्न सकिएमा हालको समस्या केहि हदसम्म सम्वोधन हुने नेपालको अपेक्षा छ ।
यो पनि पढ्नुहोस् म्यानपावर कम्पनीको धरौटीबाट काटेर अलपत्र कामदारको उद्धारका लागि रकम पठाइयो
