
काठमाडौं, पुष ३–
राष्ट्रिय मानवअधिकार आयोगले बैदेशिक रोजगारका पीडितका समस्यामा ध्यान दिन श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गरेको छ । पीडितले उजुरी दिएपनि मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार विभागले समयमै उजुरीको निरुपण नगर्ने गरेको गुनासो व्यप्त रहेको आयोगका सदस्य सुदीप पाठकले बताए ।
बैदेशिक रोजगारबाट फर्केका महिला कामदारहरुको संस्था पौरखी नेपालले आयोजना गरेको पीडित सुनुवाई कार्यक्रममा सदस्य पाठकले विभागमा अहिले पनि झण्डै ८ हजार उजुरी रहेको भन्दै यसले पीडितलाई न्याय पाउँछु भन्ने भरोसा कमजोर हुने बताए । उनले पछिल्लो डेढबर्ष देखि आयोगले बैदेशिक रोजगारको विषयलाई प्राथमिकता दिएको भन्दै अव चाँडै उजुरी लिने प्रकृया सुरु गर्ने जानकारी दिए । आयोगमा मानविय जनशक्ति कम भएका कारण धेरै काम गर्न नसकेको भन्दै सदस्य पाठकले तर यो आफ्नो प्राथमिकतामा परेको विषय भएको जानकारी गराए ।
सो अवशरमा विभिन्न देशमा रोजगारी गरेर समस्यामा परेर फर्केका महिलाले आफूहरु कसरी समस्यामा फसेको भन्ने जानकारी गराउँदै समस्यामा पर्दा उद्धार गर्न चासो नदिइएकोमा सरकारी निकाय र बैदेशिक रोजगार व्यवसायीको आलोचना गरेका थिए ।
सोही अवशरमा बैदेशिक रोजगारमा जान ठिक्क परेका केहि युवतीहरुले भनें आफूहरुलाई पौरखी नेपालले दिन थालेको तालिम पश्चात स्वदेशम नै रोजगारीको कुनै उपाय खोज्न झक्झक्याइरहेको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा अधिकारकर्मी भारती सिलवाल गिरीले छलफल पत्र प्रस्तुत गरेकी थिइन् । सो अवशरमा पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ, सचिव सत्रकुमारी गुरुङ, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बराल लगायतले आफ्ना धारणा राखेका थिए ।
यो पनि पढ्नुहोस् मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता