
–जीवन श्रेष्ठ
सृष्टिकालदेखि नै मानव जीवनयापनका लागि एक स्थानबाट अर्काे स्थानमा बसाई सर्दै आएको छ । विश्वमा औद्योगिकरण र बढ्दो जनसंख्याका कारण आफ्नो देश छोडेर विदेश जाने क्रम तिब्र रुपमा बढ्दै गयो । आप्रवासन विविध कारणले हुन्छ । त्यसमध्ये रोजगार मुख्य कारण हो । नेपालबाट बैदेशिक रोजगारमा जाने प्रकृया श्रम आप्रवासन हो ।
सबै प्रकारका आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण गर्ने अन्तराष्ट्रिय महासन्धी अनुसार आप्रवासी कामदार भन्नाले आफू नागरिक नरहेको राष्ट्रमा पारिश्रमिक पाउने क्रियाकलापमा लगाईने, लागेको वा लगाइएको व्यक्तिलाई सम्झनु पर्दछ भनिएको छ । यसैगरी वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगार भन्नाले कामदारले विदेशमा पाउने रोजगार सम्झनु पर्दछ, भनिएको छ । नेपालको विद्यमान बैदेशिक रोजगार ऐनले भारतमा काम गरिरहेका नागरिकलाई भने समेट्न सकेको छैन । राज्यको परिभाषामा आप्रवासी कामदार बन्न पासपोर्टमा भिषा नै लगाएर जानुपर्ने व्यवस्था रहेको छ । त्यसैले भारतमा रहेका लाखौं नेपाली कामदारलाई भने आप्रवासी कामदारको रुपमा लिइएको छैन ।
संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धि सन् १९९० डिसेम्वर १८ मा पारित गरी यो महासन्धि सन् २००३ देखि लागु भयो । तर यसअघि सन् २००० डिसेम्वर ४ मा संयुक्त राष्ट्रसंघको सभाले डिसेम्वर १८ लाई अन्तराष्टिय आप्रवासी कामदार दिवसका रुपमा मनाउने प्रस्ताव भनें पारित गरिसकेको थियो । यसरी महासन्धी पारित भएको दिन हरेक वर्षको डिसेम्वर १८ का दिन संयुक्त राष्ट्र संघले आप्रवासी कामदार दिवसका रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा यो दिवस उल्लासपूर्वक मनाउन थालियोे । नेपालमा भने यो दिवस सन् २००६ देखि मनाउन थालिएको हो । यस वर्ष पनि “सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार: हाम्रो सरोकार” भन्ने नाराका साथ डिसेम्वर १८ तारिख तदनुसार पौष ३ गते(आज) अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदैछ । नेपाल सरकार, आप्रवासी कामदार, ट्रेड युनियन, गैरसरकारी संस्था, विभिन्न विकास साझेदार संस्था र बैदेशक रोजगारसँग सम्बन्धित निजी व्यवसायी समेतको सहभागिता एवम् समन्वयमा सप्ताहव्यापी रुपमा आप्रवासन दिवस व्यापक रुपमा मनाइँदैछ ।
नेपाल सरकार, बैदेशिक रोजगार विभागका अनुसार आ.व. २०५०–०५१ देखि २०७३–०७४ सम्म श्रम स्वीकृति लिई बैदेशिक रोजगारमा जाने कूल नेपालीको संख्या ५० लाख नाघेको छ । गत आ.व. २०७३–०७४ मा मात्र संस्थागत र व्यक्तिगत गरी ६ लाख ५९ हजार २ सय ८४ जना वैदेशिक रोजगारमा गएका छन् । यो संख्या मेनपावर कम्पनीहरु मार्फत, व्यक्तिगत श्रम स्वीकृति लिएर तथा पुनः श्रम स्वीकृति लिएर गएकाहरुको तथ्याँक हो । यस बाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरु, अलेखबद्ध कामदार तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरुको अभिलेख समेटिन सकेको छैन । साथै बैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक पनि अद्यावधिक हुन सकेको छैन । वि.सं. २०६८ को जनगणना अनुसार देश बाहिर रहेका नेपालीहरुको कूल संख्या १९ लाख १७ हजार ९०३ रहेको देखाइएको छ जसमा १३ दशमलव ३ प्रतिशत महिला रहेका छन् । नेपालको समग्र जनसंख्याको यति धेरै नागरिकहरु देश बाहिर हुनुले आप्रवासी कामदार दिवसको महत्व थप उजागर भएको छ ।
बैदेशिक रोजगारबाट प्राप्त हुने मुख्य फाइदा विप्रेषण हो । आ.व. २०७३–०७४ मा नेपालले ६ खर्व ९५ अर्व ४५ करोड विप्रेशन भित्र्याएको छ । यो मुलुकको कुल ग्राहस्थ उत्पादनको २६ दवमलव ८ प्रतिशत हुन आउँछ भने कूल बैदेशिक मुद्रा सञ्चितिमा विप्रेषणको योगदान ६४ प्रतिशत रहेको छ । यो रकम नेपालमा बैदेशिक मुद्रा आर्जनको पहिलो श्रोत हो । तेस्रो जीवनस्तर सर्भेक्षण, २०११ का अनुसार नेपालका कूल घर परिवारमध्ये ५५ दशमलव ८ प्रतिशत परिवारले नियमित रुपमा विप्रेषण प्राप्त गर्ने गरेका छन । कूल ग्राहस्थ उत्पादनका दृष्टिले अत्यधिक विप्रेषण भित्र्याउने विश्वका ५ मुलुक मध्ये नेपाल एक हो जसले द्वन्द्वका समयमा समेत देशलाई टाट पल्टिनबाट मात्र बचाएन, गरिवीको रेखामुनि रहेको जनसंख्या ४२ प्रतिशतबाट २५.५ प्रतिशतमा झार्न र विगत वर्षमा भारतद्वारा मुलुक नाकाबन्दीमा पर्दा राज्यको आर्थिक सूचकहरु ऋणात्मक हुनबाट जोगाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
बैदेशिक रोजगारका सकारात्मक प्रभावका साथसाथै नकारात्मक असरहरु पनि प्रसस्त रहेका छन् । बैदेशिक रोजगारमा जाने बढ्दो क्रममा कतिपयः गाउँबस्तीहरु युवाविहीन भएका छन् । कर्मठ र उर्जाशील पाखुरीको अभावमा अपार सम्भावना भएका हाम्रा उर्वर जमीनहरु बाँझा छन् । नेपाल कृषिप्रधान देश भनिएता पनि देशले खाद्यान्न आयातसमेत गर्नु परिरहेको तितो यथार्थ हाम्रो सामु जगजाहेर छ ।
बैदेशिक रोजगारमा गएका अधिकांश व्यक्तिहरुका परिवारका बालबच्चाहरु शिक्षाका लागि गाउँघर छोडेर राजधानी काठमाडौ वा जिल्ला सदरमुकाम केन्द्रित हँदा आन्तरिक बसाइँ सराईको क्रम पनि बढि रहेको छ जसले गर्दा उनीहरुको परिश्रम, मितव्ययिता, आर्थिक उत्पादन र सञ्चितिमा ह्रास आईरहेको छ । संयुक्त रुपमा रहने बस्ने हाम्रो सांस्कृतिक मूल्य र मान्यतामा खलल् पुग्नुले सामाजिक मान्यता बदलिनुका साथै सामाजिक संरचना नै खलबलिन थालेको छ । श्रीमान वा श्रीमति बैदेशिक रोजगारका क्रममा लामो समय श्रीमान् श्रीमति साथमा नहुँदा तस्रो व्यक्तिसँग सम्बन्ध बढ्दै जाने र त्यसले पारिवारिक विखण्डन निम्तिन थालेको छ । आर्थिक उपार्जन गर्न बैदेशिक रोजगारमा जाने क्रमले परिवार र समाजमा विभिन्न खाले सामाजिक समस्याहरु उत्पन्न हुनाले उच्च सामाजिक लागत व्यहोर्नु पर्ने परिस्थिति आउन थालेको छ ।
जनसख्याको यति ठूलो हिस्सा आप्रवासीका रुपमा रहेको वास्तविकतालाई ध्यानमा राख्दै आप्रवासी कामदारहरुको मानव अधिकारको प्रत्याभूत गर्नु आजको आवश्यकता हो । यसका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै आपसी समन्वय र सहकार्यबाट बैदेशिक रोजगारमा देखिएका समस्याहरुको न्यूनिकरण गर्नु पर्दछ । अनेक समस्याहरुसँग जुझ्दै आप्रवासी नेपाली कामदारहरुले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका छन् । तिनै आप्रवासी नेपाली कामदारहरुले पठाएको पैसाले के गाउँ, के सहर राष्ट्र कै अर्थतन्त्र चलायमान भएको छ । तसर्थ वैदेशिक रोजगारीले ल्याएको समस्या उनीहरुको मात्र नभई सम्पूर्ण नेपाली समाज कै समस्या हो । तसर्थ नेपाली आप्रवासी कामदारहरको सुरक्षित आप्रवासनका लागि सबैको ध्यान पु¥याउनुका साथै वैदेशिक रोजगारलाई व्यवस्थित मर्यादित बनाउन समेत जरुरी छ ।
सुरक्षित बैदेशिक रोजगारीका लागि सर्वसाधारण सबैको चेतना अभिवुद्धि गर्न यो दिवस आवश्यक छ । दिवसको अवसरमा सुरक्षित बैदेशिक रोजगारको विषयमा चर्चा गर्ने र स्थानीय तहमा जनचेतना वृद्धि गर्ने माहौल बनाउनु पर्दछ । यस दिवसले खासगरी नेपाली आप्रवासी कामदारका लागि ज्यालामा समान अधिकार, आप्रवासी कामदारको आधारभूत मानवअधिकार सुरक्षित गर्ने एवम् घरेलु कामदारको सुरक्षाका विषयले चर्चा पाउनु पर्दछ । यसैगरी विदेशमा न्युनतम मापदण्दसहितको श्रम सम्झौताको व्यवस्था, महिलाको प्रजनन् स्वास्थ्यमाथिको अधिकार, कामबाट जबरजस्ती निश्काशन बन्द गरिनु पर्ने, आप्रवासी कामदारको सुरक्षित जीवनको अधिकार, सुरक्षित र सुलभ बैदेशिक रोजगार नेपाली आप्रवासी कामदारहरुको मुख्य मागहरु हुन ।
युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर छैनन् भन्ने मनोभावनाबाट मुक्त गर्नु आजको प्रमुख चुनौति हो । यस चुनौतिसँग लड्न राज्यको केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह गरी ३ वटै सरकारको भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद छ । बैदेशिक रोजगारको लागि विदेश जानु अघि, विदेशमा रहँदाको समय र स्वदेश फर्किए पछिका सबै चरणहरुमा देखिएका समस्यहरुलाई सम्बोधन गर्दै बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला सबैको ऐक्यवद्धता जरुरी छ ।
यो पनि पढ्नुहोस मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता