
काठमाडौं, मंसिर २०-
कुवेतमा ३ सयको हाराहारीमा नेपालीहरु अलपत्र परेको सम्वन्धमा उनीहरुको उद्धारका लागि सरकार जुटेको छ । खानबस्न समेत समस्यामा परेका नेपालीका बारेमा समाचार सार्वजनिक भएपछि उनीहरुको उद्धारका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले चासो देखाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदले तत्काल समस्यामा परेका नेपालीको खानेबस्ने व्यवस्था कुवेतस्थीत दूतावासलाई निर्देशन दिएको छ । यसैगरी उनीहरुको स्वास्थ्य उपचार लगायतको व्यवस्था पनि दूतावासले नै मिलाउने गरी व्यवस्था गर्नेभएको छ ।
समस्यमा परेका नेपालीको संख्या यकिन गरी उनीहरुको भिसाको अवस्था, जरिवाना लाग्ने अवस्था भएमा के कति लाग्ने अवस्था हो सो लगायतको विवरण परराष्ट मन्त्रालय मार्फत संकलन गर्ने र समस्यामा परेकाहरुको उद्धारका लागि बैदेशिक रोजगार विभागले उनीहरुलाई रोजगारीमा पठाउने म्यानपावर कम्पनी मार्फत पहल गर्ने निर्णय पनि भएको छ ।
कुवेतको एक कम्पनीले लामो समयदेखि नेपाली कामदारलाई तलव तथा अन्य सुविधाहरु उपलव्ध नगराएको सम्वन्धमा हेल्लो सरकारमा प्राप्त गुनासोका आधारमा सो बैठक बसि निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
हाल कुवेतमा ३ सयको हाराहारीमा नेपाली कामदार समस्यामा परेको भनिएपनि ९४ जनाले कुवेतस्थीत नेपाली दूतावासमा निवेदन दिएका छन् । उनीहरुलाई एसओएस, लोटस, पास, अल करिम म्यानपावर कम्पनीले रोजगारीमा पठाएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।