रञ्जना लम्साल, नवलपरासी, मंसिर १३-
उमेरले भरर्खरै ३५ बर्ष पुगिन् रेश्मा लंका मगर । तर उनका श्रीमानको साथ छुटेको ८ बर्ष भईसक्यो । रोजगारीका लागि परदेशिएका मध्यबिन्दु १२ का खेम बहादुर मगरले उतै मलेसियामा प्राण त्यागे । राती राम्रैसँग सुतेका उनको विहान उठ्दा प्राणपखेरु उडिसकेको थियो ।
उनको शव नेपाल आइपुग्यो, परिवारले दाहसंस्कार गरे । अनी नियमानुसार सरकार र ईन्सुरेन्स कम्पनीबाट पाउने आर्थिक सहायता पनि परिवारले पायो । रेश्मालाई लाग्यो अव हुने यत्ति नै हो । पाएको रकमबाट उनले बासको व्यवस्था गरिन् । त्यसपछि उनी जसोतसो परिवार पाल्न जुटिन् ।
ज्याला मजदुरी गर्ने रेश्माका ७० बर्ष कटेका सासुससुरा छन् । विद्यालय तहमा पढ्ने ४ जना छोराछोरी । उनीहरुको लालनपालन र शिक्षादिक्षा उनैको काँधमा छ । एकातिर ठूलै जहान पाल्नुपर्ने दायित्व छ, अर्कातिर पढाईको खर्च । त्यसैले विद्यालयको समय भन्दा अन्य समयमा उनका छोराछोरी पनि ज्याला मजदुरी गर्न थालेका छन् ।
बैदेशिक रोजगारमा गएर ज्यान गुमाएका थुप्रै परिवारको कथा यो भन्दा खासै फरक छैन । मध्यविन्दु नगरपालिकाकै अम्बर बहादुर मुसहरको पनि ५ बर्ष अघि मलेशियामा सवारी दुर्घटनामा परेर निधन भयो । मुसहर परिवारले पनि सरकार, ईन्स्योरेन्स कम्पनी र विदेशस्थीत कम्पनीबाट आर्थिक सहायता पायो । सोही रकमले उनीहरुले पनि बस्ने बासको व्यवस्था गरे । अम्बर बहादुरकी श्रीमतीले भनें अर्को बिहे गरिन् ।
उमेरदार छोरो विदेशमा वितेपछि र बुहारीले अर्कैसँग विहे गरेपछि परिवार पाल्ने जिम्मा आइपर्यो अम्बर बहादुरका बुवा छनु मुसहरलाई । उनी अरुणखोला बजार नजिकै पुलचोकमा रहेको शौचालय सफा गर्ने काम गर्छन् । यो परिवारको छाक टार्न मुस्किल पर्ने कमाई हो ।
कमाईको कुनै बाटो थिएन । त्यसैले पढ्न नपाएपछि अम्वरबहादुरका ३ छोराछोरी मध्ये एउटा छोरा लेवरको काम गर्छन् । बाँकी दुईजना स्थानीय सरकारी विद्यालयमा पढ्दैछन् । हजुरआमा हजुरबुवाको संरक्षणमा रहेका उनीहरु मध्ये माईली छोरीको पनि पढाई छुट्ने अवस्था छ । कारण आर्थिक अभाव नै हो ।
दुवै परिवारले भोगेको घटना र त्यसपछिका कुरा लगभग समान छन् । परदेशमा उमेरदार आफन्त वितेपछि दुवै परिवारले पाउनु पर्ने राहत रकम पायो, दुवै परिवारले त्यसबाट बासको व्यवस्था गरे र दुवै परिवारमा पढ्ने उमेरका छोराछोरी छन् । र, बाबु गुमाएपछि दुवै परिवारका बालबालिका ज्याला मजदुरी तर्फ धकेलिएका छन् । यति मात्र होइन उनीहरु मध्ये कसैका पढाई छुटिसकेको छ र कसैको छुट्ने अवस्थामा पुगिसकेको छ ।
हाल सरकारले यसरी विदेशमा रोजगारीका क्रममा ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका छोराछोरीलाई अध्ययनका लागि छात्रबृत्ति दिने व्यवस्था गरेको छ । तर बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र बीमा कम्पनीबाट पाउनु पर्ने रकम पाएपछि परिवारले ठान्यो हामीले पाउने सुविधा यत्ति नै हो । सो समयमा थियो पनि त्यहि । त्यसैले उनीहरुले मृतकका सम्पुर्ण कागजपत्रको सुरक्षा गर्नु जरुरी ठानेनन् ।
बैदेशिक रोजगारीका क्रममा बाबु गुमाएका यी बालबालिकाले भनें त्यहि कागजातको अभावमा सो छात्रबृत्ति पाइरहेका छैनन । यसका लागि आवश्यक व्यवस्था कसरी हुनसक्छ भनेर अहिले परिवारका सदस्यहरु दौडधुप गरिरहेका छन् । उनीहरुका लागि आवश्यक सहयोगका सागि प्रयास थालिएको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
आर्थिक सहायताका लागि निवेदन दिन प्रवद्र्धन बोर्डको आग्रह
