काठमाडौं, मंसिर ८-
६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् ।
आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दैै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ ।
साउदी अरव, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका दर्जनभन्दा बढी ठुला कम्पनी बन्द भइसकेका छन् । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन् ।
कतारमा रहेका साउदीको अलमराई कम्पनीबाट मात्रै ३ सयभन्दा बढी नेपाली फिर्ता भइसकेका छन् । ‘नाकावन्दी सुरु हुनेबित्तिकै हाम्रो काम ठम्प भयो । सुरुदेखि नै कम्पनीले कामदार नेपाल पठाउन थाल्यो । हामी २० जनालाई एकै लटमा पठायो,’ ६ वर्षदेखि अलमराईमा कार्यरत धादिङका किशोर ठकुरीले भने, ‘पठाउने बेला हाम्रो तलबसुविधाको हिसाब सबै भुक्तानी भएन । अहिलेसम्म ३ सयभन्दा बढी आइसकेका छन् ।’
हजारौ कामदारलाई रोजगार दिने सिडिसी, बुम कन्ट्रक्सन, सिसिसि, अल मन्नाई ट्रेडिङ, सप्तन टेडिङ एण्ड कन्टक्सन, अल रुवावी, कतार इन्फास्टकचर, लेसलगायतका कम्पनीले पछि बोलाउने भन्दै कामदार फिर्ता पठाइरहेका छन् । कतिपय कम्पनीले अर्को कम्पनीमा काम गर्न पाउने गरी कामदार छाडिदिएका छन् ।
कामदारले ओभरटाइम गर्नसमेत पाएका छैनन् । ‘ओभरटाइममा पाउने रकमले नै आफ्नो ब्यक्तिगत खर्च धानिरहेका थियौं । ओभरटाइम नचल्दा तलव नै बचाउन मुस्किल परेको छ,’ अलि विन अलिका एक सुपरभाइजर भन्छन्,‘नियमित हुने कार्यतालिकामा अनिश्चितता बढेको छ । नाकाबन्दीको असर सबैतिर परिरहँदा कतै हाम्रो पनि अन्य कम्पनिको जस्तै हालत त हुने हैन ? बिना योजना नै अपर्झट फर्कनु पर्ने त हैन भन्ने मानसिक दबाब परेको छ ।’
साउदीको बाटो रोकिदा कतारले वैकल्पिक बाटोबाट खाद्यान्य आपुर्ति गर्दा महंगी बढेको छ । कतार सरकारले महंगी नियन्त्रण गर्ने प्रयास गरे पनि सफल भएको छैन । सामान्य कामदारको पहुँच रहेका साना पसलेहरुले मनलाग्दी ठगी गरिरहेका छन् । ‘कागती, आलु, ब्याज, गोलभेडा र धनियाँ वजारमा वेला वेला अभाव हुन्छ । एक रियाल पर्ने आलुलाई ५ रियालसम्म परेको छ । धनियाँको मूल्य निकै बढेको छ ।
पछिल्लो समयमा कामदारले नेपालमा पैसा पठाउन समेत कठिनाइ भोगिरहेका छन् । ‘हिजो एक लाख रुपैया पठाउन खोजेको थियौं । ५० हजार रुपैयाँ भन्दा बढी पठाउन पाइएन । रेमिट्यान्स कम्पनीहरुले पैसा पठाउने बिषयमा कडाइ गरेका छन्’, अशोक स्याङतानले भने,‘पहिला यस्तो थिएन । यसले झन तनाब बढाएको छ ।’
कतारस्थित नेपाली दूतावासमा नाकावन्दीको असरमा रोजगारी गुमाउनेहरुको सूचना छैन । ‘तरकारीलगायत खाद्यान्नमा महंगी बढेको सबैले भोगेका छन्’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने,‘ब्लकेडको बिषयमा जोडिएर कुनै नेपाली कामदार समस्या लिएर दूतावास आएको स्थिति अहिलेसम्म छैन ।’ नाकाबन्दीले कतारका नागरिक र अप्रावासी कामदारमाथि परेको नकारात्मक असरको अध्ययन गर्न संयुक्त राष्ट्रसंघको उच्चस्तरीय टोली कतार आइपुगेको छ । कान्तिपुरबाट
