
हरि कृष्ण न्यौपाने, कुवेत, कात्तिक १६-
कुवेतस्थित कुवेत इनास ग्रुप कम्पनीमा स्काफोल्डिङ कामका लागि १७ महिना अघि आएका १४ जना कामदारहरु विगत तीन महिना देखि काम र तलव नपाएर अलपत्र परेका छन् । उनीहरु कुवेत आए देखी नै बिभिन्न बहानामा बिभिन्न समयमा कम्पनीबाट पीडित भइरहेका थिए । खर्चको अभावमा विगत एक महिना देखि उनीहरुलाई खान समेत अरुकै भर पर्नु परेको छ ।
कोरियन कम्पनीमा ओभरटाइम सहित राम्रो सुबिधा दिने भन्दै खाडीबाट काम गरेर फर्केका अनुभवीलाई मात्र पठाउने भनेर सिफ्ट गोर्खा इन्टरनेश्नलबाट आएका १३ जना र युनाइटेड मेनपावरबाट आएका माने सार्की (उदयपुर) अप्ठ्यारोमा परेका हुन् । उनीहरु १७ महिना अगाडी कुवेत आएका हुन् । बेला बेलामा काम नभएको भन्दै न्यूनतम पारिश्रमिक र सेवासुबिधा (९० केडी मासिक पारिश्रमिक र खाने,बस्ने सुबिधा) नदिने गरेको पीडितले बताएका छन् । गत ३ महिनादेखी आफूहरुले पारिश्रमिक नपाएको र गत अक्टोबर ८ तारिक देखी कम्पनीको मेसमा खाना खान समेत बन्चित गरिएको उनीहरुको भनाई छ ।
कम्पनीले कुवेतको सिभिल आइडी समेत नदिएकोले दुताबास वा कतै जाँदा समेत प्रहरीको डरमा हिंड्नु परेको उनीहरुले बताएका छन् । पीडितले नेपालको एजेन्टहरु एस.के. पुरी, रन बहादुर मल्ल, मदन पुरी लगाएतलाई छिट्टै स्वदेश फर्काउन अनुरोध गरे पनि उनीहरुले बिभिन्न बहानामा टार्ने तथा मोबाइलमा ब्लक गर्ने गरेको उनीहरुले बताए ।
पीडित कामदारहरुले नेपाली दुताबास कुवेत गएर आफुहरुलाई क्षतिपुर्ती सहित स्वदेश फर्काउन अनुरोध गरेका छन । पीडितको परिवारको दबाव पछी सिफ्ट गोर्खा इन्टरनेश्नल म्यानपावरले पनि बैदेशिक रोजगार बिभागमा कुटनीतिक प्रयासबाट पीडितहरुलाई सकुशल नेपाल फर्काउन पहल गर्न निबेदन दिएको छ ।
नेपाली दुताबास कुवेतका द्धितिय सचिव ज्ञान बहादुर मगरका अनुसार पीडितहरु दुतावासमा आएर समस्याको बारेमा गुनासो परे पछी कम्पनीको प्रतिनिधिलाई दुतावासमा नै बोलाएर तथा पुनः कम्पनीमा नै गएर उनीहरुलाई स्वदेश फर्काउन अनुरोध गरिएको छ । कम्पनी प्रतिनिधिले १५ दिन भित्र कानुनी प्रकृया पुरा गरेर फर्काउने बताएको मगरले बताए । द्धितिय सचिव मगरका अनुसार उनीहरुको सरकारी भिसा भएकोले कानुनी प्रकृया केहि जटिल हुन सक्छ ।
यसैबिच कल्याणकारी नेपाली युवा समाज कुवेतले पीडितहरुलाई स्वदेश फर्काउन दुतावास पुर्याउने देखी अन्य कुराहरुमा सहयोग गर्दै तत्कालका लागि खाद्यान्न सहयोग गरेको छ । समाजले पीडितहरु स्वदेश नफर्केसम्म सम्बन्धित निकायहरुलाई अनुरोध गर्दै पीडितहरुलाई सहयोग गरिरहने बताएको छ । यसैगरी जिफन्ट सपोर्ट ग्रुप कुवेतका अध्यक्ष अर्जुन बस्नेतले जिफन्ट सपोर्ट ग्रुप कुबेतलाई पनि पिडितहरुले उद्दारको लागि निवेदन दिएकोले तत्काल जिफन्ट टिमले उनीहरुलाई तत्काल आवश्यक केहि दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको बताए । उनले कानुनी सहायताका लागि पनि पहल गरिरहेको बताए । यसका लागि जिफन्ट केन्द्रमा पत्राचार गरि सकेको तथा कुवेती ट्रेड यूनियनको कार्यालयमा पनि निवेदन दिने बस्नेतले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
तीनजना नेपाली सहित ५५ कामदार अस्पताल भर्ना