
काठमाडौंं- साउदी अरबले पहिलोपटक महिलालाई रंगशालामा गएर खेलकुद प्रतियोगिता अवलोकन गर्ने अनुमति दिन गइरहेको छ । साउदी अधिकारीले बताएका छन् कि आगामी वर्षसम्ममा त्यहाँका महिलाले यस्तो अधिकार उपभोग गर्न सक्नेछन् ।
साउदी अरबका तीन ठूला सहर रियाद, जेद्दा र दम्मामका महिला परिवारका साथमा स्टेडियममा उपस्थित हुन सक्नेछन् । साउदी महिलालाई थप बढी स्वतन्त्रता दिने दिशामा देशको यो ताजा कदम हो । साउदी अरबमा महिलाको दैनिक जीवनदेखि अन्य विभिन्न पक्षमा निकै कडा नियम–कानुन कायम छन् । तर, हालै साउदी सरकारले महिलाका लागि सवारीचालक अनुमतिपत्रमाथि लगाइएको प्रतिबन्ध हटाएर ऐतिहासिक कदम उठाएको थियो ।
सुधारको श्रेय युवराज सलमानलाई
साउदी अरबका युवराज मोहम्मद बिन सलमान साउदी समाजको आधुनिकीकरण तथा अर्थव्यवस्थालाई नयाँ गति दिने कार्यमा निरन्तर लागिपरेका छन् । साउदी अरबको खेल प्राधिकरणले भनेको छ कि रंगशालाहरूमा महिलाका लागि अत्यावश्यक सम्पूर्ण व्यवस्था मिलाइनेछ । परिणामतः आगामी २०१८ को सुरुवातसम्ममा यहाँका महिला परिवारका साथ रंगशालामा गएर खेल हेर्न सक्नेछन् ।
अहिलेसम्म साउदी अरबका रंगशालामा केवल पुरुषलाई प्रवेश अनुमति थियो । यसका लागि त्यहाँ मनिटर स्क्रिन लगाउने र रेस्टुरेन्ट तथा क्याफेको व्यवस्थापन पनि हुनेछ । साउदी अरबमा भइरहेका हरेक सुधारको श्रेय त्यहाँका युवराज मोहम्मद बिन सलमानलाई दिने गरिएको छ ।
को हुन् युवराज सलमान ?
जब सन् २०१५ मा राजकुमार मोहम्मद बिन सलमानका पिता देशका राजा बने, त्यसअघि साउदी अरब बाहिरका निकै कम मानिसले मात्र सलमानबारे सुनेका थिए होला । तर, त्यसपछिका दिनमा भने ३१ अगस्ट १९८५ मा जन्मेका ३१ वर्षीय मोहम्मद बिन सलमान संसारकै अग्रणी तेल निर्यातक देशका सबैभन्दा प्रभावशाली व्यक्ति बन्न सफल भए ।
युवराज सलमान तत्कालीन युवराज सलमान बिन अब्दुल अजिज अल साउदीकी तेस्री पत्नी पहदाह बिन फलह बिन सुल्तानका जेठा पुत्र हुन् । राजधानी रियादको किङ साउदी विश्वविद्यालयबाट कानुनमा डिग्री लिएपछि उनले कैयौँ सरकारी संस्थामा सेवा दिएका छन् ।
आर्थिक परिवर्तन
सन् २००९ मा उनी आफ्ना पिताका विशेष सल्लाहकारमा नियुक्त भएका थिए, जो त्यस समयमा रियादका गभर्नर थिए । मोहम्मद बिन सलमानको सत्ता चढ्ने कार्यको सुरुवात सन् २०१३ मा त्यतिखेर भयो, जब उनलाई क्राउन प्रिन्स कोर्टका प्रमुख चुनियो । यो मन्त्री पदको सम्मान थियो ।
युवराज मोहम्मद बिन सलमानले भिजन ०३० अन्तर्गत यस तेल निर्भर राष्ट्रमा सामाजिक तथा आर्थिक परिवर्तनलाई साकार रूप दिने खालका निकै महत्वपूर्ण धेरै निर्णय लिएका छन् । उनले देशको उदार अनुदान व्यवस्थामा कमी ल्याउन सुरुवात गरे र सरकारी तेल कम्पनी साउदी अराम्कोको निजीकरणको प्रस्तावलाई अघि बढाएका छन् । विविसीबाट