काठमाडौं, असोज ३०-
एनआरएनए विश्व सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले सोमबार आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चुनाव गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय समितिबाट छानिएकामध्ये उक्त संख्याका प्रतिनिधिले रजिस्ट्रेसन गरेपछि मतदाता टुंगो लागेको हो।
एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउँछन्। हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ।

एनआरएनएको अध्यक्ष पदमा भवन भट्टले उम्मेदवारी दर्ता गरेका छन्। सोमवार विहान १० बजेसम्म जमुना गुरुङले यो समाचार तयार पार्दासम्म उम्मेदवारी दर्ता गरेकी छैनन्। उम्मेदवारी दर्ताको समय सोमबार बिहान ८ बजेसम्म भनिए पनि यसका बारेमा अन्यौल नै छ । सम्मेलनस्थलमा रहेका पत्रकार रवि रोशीका अनुसार उनको उम्मेदवारी यो समाचार तयार पार्दासम्म दर्ता भएको छैन ।
उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, चिरञ्जीवी थापा र खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गरेका छन्। अधिकांश पदमा चुनाव हुने अनुमान छ। आइतबार बन्दसत्रले अध्यक्ष शेष घलेले पेस गरेको भिजन २०२० पारित गरेको थियो।
