काठमाडौं- कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले कामदारको समस्या सात दिनभित्र समाधान गर्ने संयन्त्र बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कतारका प्रशासनिक विकास तथा सामाजिक मन्त्री इशा विन साद अल जुवैल अल–नुएमीले यस्तो संयन्त्रले कामदारलाई छिटो न्याय प्रदान गर्ने बताए ।
कतारमा नेपाली कामदारले भोगिरहेका समस्याबारे छलफल गर्न पुगेका नेपाली राजदूत रमेशप्रसाद कोइरालासमक्ष मन्त्री जुवैलले भने, ‘कामदारको विवाद समाधान गर्न कानुन पनि बनिसकेको छ । यो संयन्त्र बनेपछि कामदार अदालत जानुपर्ने अवस्था आउँदैन ।’
नेपाली कामदारका समस्या समाधान गर्न कतारको श्रम मन्त्रालय र दूतावासबीच तीन महिनाअघि एक समन्वय समिति बनेको थियो । छलफलमा श्रममन्त्री जुवैल र राजदूत कोइरालाले समितिको तीन महिनाको काम समीक्षा गरेका थिए । समितिमा श्रम विभागका प्रतिनिधि र श्रम काउन्सिलर छन् । ‘कामदार अदालत गएर मुद्दा खेप्नुपर्दा महिनौं पर्खनुपर्ने अवस्था छ । कतिपयलाई बस्न र खानसमेत समस्या छ । छिट्टै समाधान गर्ने संयन्त्र आए धेरै राहत हुन्छ,’ राजदूत कोइरालाले भने ।
दोहोरो करारपत्र बोकेर काम गर्न बाध्य हुनुपर्ने अवस्था हटाउन श्रमद्वारा प्रमाणित मागपत्र दूतावासले हेर्न मिल्ने व्यवस्था गर्न लागिएको श्रममन्त्री जुवैलले जानकारी दिए । ‘यो व्यवस्था परीक्षणका क्रममा रहेको हामीलाई जानकारी दिइएको छ । यो लागू भए हाम्रा कामदारले दोहोरो करारपत्र बोक्नुपर्ने बाध्यता हट्नेछ,’ उनले भने, ‘अहिले कामदारसँग सक्कली करारपत्र साथमा हुँदैन ।
समस्या परेर दूतावास आएपछि मात्रै हामीलाई जानकारी हुन्छ । यो व्यवस्थापछि कुन कम्पनीले कति तलबमा नेपाली कामदार ल्याउँदैछ भन्ने सूचना दूतावाससँग रहनेछ ।’ भेटमा नेपाली दूतावासले श्रममन्त्रीलाई नेपाली कामदारले तलब नपाएका, घर फिर्न नसकेका, आवासलगायत समस्या अवगत गराएको थियो । कासन्तपुरबाट