
काठमाडौं– युएईमा घरेलु कामदारका लागि बनाइएको नयाँ कानूनलाई त्यहाँका शेखले अनुमोदन गरेका छन् । युएईका स्थानीय सञ्चार माध्यमका अनुसार सो कानूनलाई शेख अलिफा विन जायाद अल नाहनले अनुमोदन गरेका हुन् ।
यो घरेलु कामदारका लागि युएईले तयार पारेको पहिलो कानून हो । यसअघि घरेलु कामदारलाई त्यहाँको श्रम कानूनले नसमेट्ने भएका कारण घरेलु कामदार समस्यामा पर्दा उचित न्याय पाउन सकिरहेका थिएनन् ।
गल्फ न्यूजका अनुसार सो कानून राजपत्रमा प्रकाशित भएको दुई महिनापछि लागु हुन्छ । कानूनका मुख्य विशेषताहरुः
- दिनमा कम्तीमा पनि १२ घण्टा आराम गर्न पाउने अधिकार (दैनिक ८ घण्टाको काम पश्चात)
- साप्ताहीक रुपमा तलवी एक दिन छुट्टी
- हरेक महिना १० दिन भित्रमा तलव भुक्तानी भइसक्नु पर्ने
- पासपोर्ट लगायतका व्यक्तिगत कागजात कामदारले आफैंसँग राख्न पाउने
- मानव संशाधन मन्त्रालयलाई ४८ घण्टा अगाडी जानकारी गराएर कामदारले कुनै जरिवान नतिरी सम्झौता रद्ध गर्न पाउने
यसैगरी हाल रहेका कामदार आपूर्ति गर्ने नीजि कम्पनीहरु आगामी डिसेम्वर महिनासम्ममा सार्वजनिक नीजि साझेदारी स्वरुपमा परिवर्तन भइसक्नु पर्ने व्यवस्था गरिएको छ । टादवीर सेण्टर भनिने यस्ता केन्द्रहरुले कामदार आपूर्ति, तालिम र मध्यस्थताको काम गर्ने जनाइएको छ ।
हाल ७ लाख ५० हजार घरेलु कामदार युएईमा कार्यरत रहेका छन् । यसमध्ये बहुसंख्यक दुवई, अवुधावी र सारजहाँमा रहेका छन् । कुवेत र कतार पश्चात घरेलु कामदारका लागि छुट्टै कानून बनाउने युएई खाडी क्षेत्रको तेश्रो मुलुक हो ।
यो पनि पढ्नुहोस्