
सुर्खेत- पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग गरी बनाउन लागिएको सुर्खेतस्थित भेरी बबई डाइभर्सनको कामले गति लिएको छ । यस आयोजनामा अहिले दिनहुँ २४ घण्टा काम भइरहेको छ । दसैं, तिहारलगायतका बिदामा पनि काम गर्ने मजदुरलाई तेब्बर तलब दिने निर्णय आयोजनाले गरेको छ ।
आयोजनाका इन्जिनियर प्रकाश पुठासैनीले दसैंतिहारमा बिदा नलिई आयोजनामा काम गरे तेब्बर तलब पाउने सुविधा दिइएको बताए । मजदुरले आम्दानी धेरै गरून् भनेर तेब्बर तलब दिन लागिएको उनले बताए ।
१६ अर्ब रुपैयाँ लागत अनुमान रहेको आयोजनामा भेरीको पानी सुर्खेतको रामघाटबाट बर्दियाको बेल्हवास्थित बबई नदीमा खसालिनेछ । रामघाटमा पावर हाउस निर्माण गरी कुल ४८ मेगावाट विद्युत उत्पादन गरिनेछ भने बबई नदीमा खसालिएको पानीबाट करिब ५१ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइने लक्ष्य राखिएको पुडासैनीले बताए ।
डाइभर्सन र सिँचाइ गरी दुई चरणमा काम गरिनेछ । पहिलो चरणमा डाइभर्सनअन्तर्गत १२ किलोमिटर सुरुङ निर्माण गर्ने तयारी भएको उनले बताए । भेरीमा हेडबक्स र बबईमा पावर हाउस निर्माण गरिने आयोजना प्रमुख जगदीश्वरमान श्रेष्ठले बताए । “हामी अहिले पहिलो चरणको कामलाई तीव्रता साथ निर्माण गरिरहेका छौं ।” उनले पहिलो चरणको काम सकिएमा दोस्रो चरणको कामलाई अगाडि बढाउने जानकारी दिए ।
सन् २०२० सम्म काम सक्ने गरी निर्माण कार्यको थालनी गरिएको भेरी बबई डाइभर्सनको काम दोस्रो चरणमा बर्दिया र बाँकेमा सिँचाइको संरचना निर्माण गरिने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताए । “कुल ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य हामीले लिएका छौं ।” उनले भने, “सिँचाइ र जलविद्युत् उत्पादनको काम सँगसँगै गर्न लागिएको पनि नेपालमै पहिलो आयोजना हो ।” कारोवारबाट