दिपक पुडासैनी-
आफै अध्यक्ष हुनलाई नेपालमा पार्टी फुटाउनु त सामान्य कुरा भइसक्यो, बिदेशमा पनि आफै अध्यक्ष हुनलाई अनेकौं षडयन्त्रहरु हुने गर्छन भन्दा अव अचम्म मान्नु पर्दैन । अझ एउटै ब्यक्ती दर्जन भन्दा बढी संस्थाहरुमा बिभिन्न पदमा टाँसिएर बसेको पनि हामीले लाज नमानी हेरिदिनु परेको छ । पदहरुमा टाँसिनु कुनै महान उदेश्यका लागि हैन । हप्तै पिच्छे हुने बिबिध कार्यक्रमहरुमा गई खादा लगाउन, आसन जमाउन, भाषण ठटाउनलाई हो भन्दा अन्यथा हुने छैन । किनकी हरफहरु मैले देखे भोगेको आधारमा लेखेको हो सुनेको भरमा हैन ।
यसलाई पुष्ट्याउने मसँग अरु पनि धेरै आधारहरु छन । ति मध्धे मुख्य आधार चांहि कतारमा गठित विविध संस्थामा बिशेष गरी नव निर्वाचित अध्यक्षहरुसँग भिन्न भिन्न समयमा गरिएका अनौपचारिक कुराकानीहरु । दर्जन भन्दा बढी संस्थाका अध्यक्षहरुलाई मैले एउटै प्रश्न सोधेको थिएं: तपार्इको कार्यकालमा तपाईले के के काम गर्ने योजना बनाउनु भएको छ ? केहि समय त सबैजना अवाक भए, फेरी उनिहरुको जवाफ आउँथ्यो हाम्रो संस्थाको उदेश्य यो यो हो हामी त्यहि उदेश्य अनुसार काम गर्छौ । त्यस बाहेक तपाईं अध्यक्ष भएपछि गर्ने थप योजना के हि छन की ? अं…. अं…. अं…. अं…. त्यस्तो बिशेष त केहि छैन । यस्ता जवाफ आए प्रायः सबै अध्यक्षज्यूहरु बाट ।
कुनैपनि संस्था गठनका उदेश्य खराब हुदैनन । चाहे ति संस्था कतारमा खोलिएको होस वा नेपाल वा संसारका अरु कुनै कुनामा । नेपालीहरुद्धारा प्रवासमा खोलिएका संस्थाहरु त अझबढी सेवा र सहयोगमुखी हुन्छन र छन पनि । तर संस्थालाई कस्तो बनाउने भन्ने कुरा ति संस्थाका सञ्चालकहरु अझ भनौ बिशेषगरी अध्यक्षमा निर्भर गर्दछ । अध्यक्षले पेश गरेको प्रस्तावमा संशोधन सहित वा संशोधन रहित पारित गरेर कार्यान्वयनमा लैजाने र संस्थाका गतिविधि सकारात्मक वा नकारात्मक बनाउने भन्ने कुरा संस्थाका अन्य पदाधिकारीमा पनि निर्भर गर्दछ । तर यहाँ त अध्यक्ष हुनु भनेको हरेका हप्ता हुने विविध कार्यक्रममा जाने, खादा लगाउने, अतिथी बन्ने भाषण ठोक्ने र बेलुका फेसबुक वालमा फोटो टांस्ने नै हो भन्ने परम्परा नै बस्न थालिसकेको छ ।
यहां मैले कुनै संघसंस्था वा त्यसका अध्यक्षको बिरोध गर्न खोजेको हैन र यहां गठन भएका संस्थाहले कामै गरेका छैनन पनि भन्न खोजेको हैन । यहि भएका नेपालीहरु संगठित हुदा हाम्रा गाउं गाउंमा एम्बुलेन्स चलेको छ, बाटो, इनार, कुवा, पुल बनेको छ, बिद्यालयमा बिद्यार्थीले छात्रबृत्ति पाएका छन । ठाउंठाउंमा लाइब्रेरी खुलेका छन । कोहि मर्दा लास उठाउने र कोहि बिरामी हुदा उपचार गर्ने पैसा सहजै जम्मा भएका छन । कसैलाई आकस्मिक अवस्थामा देश फर्कनु पर्दा, वा टिकटको अभावमा देश फर्कन नपाएकालाई टिकट सहयोग भएको छ । यतिमात्रै हैन अन्य पनि थुप्रै साथ र सहयोग गाउंबासी र देशबासीका लागि भएका छन । देशमा दैवि विपत्ति, भुकम्प, बाढी पहिरोका बेला भएका सर सहयोगको त कहि कतै कोहिसंग तुलना नै हुन सक्दैन । जति सरसहयोग बिपत बेला बिदेशमा रहेका नेपालीले देश र देशबासीका लागि गरे त्यति सहयोग त अहिलेसम्म सरकारले पनि गरेको छैन ।
तर यि सहयोगहरु यहाँका संस्थामा नेतृत्वको क्षमताले हैन स्वतः स्फुर्त उठेका र भएका छन । नेतृत्वले बनाएका योजना अनुरुप हैनन । माथीनै उल्लेख गरेनी नेतृत्वसंग त कुनै योजना नै देखिदैन । कुनै लक्ष्य, योजना र दृष्टिकोण बिहिन सरकार रहेको देशका नागरिक हामीले आफ्नो गांस कटाएर सहयोगमा जुटेका प्रवासी तथा प्रवासका नेताहरुले आफ्ना योजनाहरु बनाएनन भन्नु सायद मेरो पनि मुर्खता पो हो की ? तर हरेक राम्रा र असल कामको सुुरुवात अरुले गरिदेओस भन्नु भन्दा आफैले आरम्भ गर्नेकी मात्रै हो मैले भन्न खोजेको ।
प्रवासमा गठन भएका संस्थाका प्रमुख तथा प्रमुख बन्न लालायीत ज्यूहरुलाई आग्रह गर्न चाहन्छु: यहांहरुले गाउं, समाज क्षेत्र र देशका लागि अत्यन्तै राम्रा कामहरु गर्नु भएको छ त्यसको लागि हृदयदेखी नै आभारी छु । यहांहरुलाई नेतृत्व गर्न र संस्था हांक्न आफु सक्षम र योग्य छु भन्ने लाग्न थाले देखी नै आफुले पुरा गर्न सक्ने र आफुले आरम्भ गरिदीएपछी उत्तराधिकारीहरुले निरन्तरता दिनसक्ने अल्पकालिन र दिर्घकालिन योजना तयार गर्नुहोस । आफ्ना योजनाहरुलाई आफ्नो कार्यकाल आरम्भ हुनासाथ पहिलो बैठकमै पेश गर्नुहोस, ति योजनाहरुलाई सबै बसेर बृहत छलफल गर्नुहोस, केहि परिमार्जन आवश्यक देखिए त्यो पनि गर्नुहोस किनकी एक्लैले बनाएको योजना भन्दा धेरैको सल्लाहमा ति योजना अझ राम्रो बन्न सक्छ । अब ति योजना कार्यान्वयनका लागि आफ्नै संस्थाभित्र र आबश्यक परेमा अन्य संघसंस्थाहरुसंग पनि सर सल्लाह, सहयोग र आवश्यक परेमा सहकार्य गर्नुहोस । आखिर राम्रो कामका लागि सबैले गच्छेअनुसार सहयोग गरि नै रहनुु भएको छ । यो भनेर नबस्नुस कि जतिबेला जे पर्छ त्यतिबेला त्यहि गरौला ।
सबैलाई थाहा छ चालक राम्रो भएमात्रै सवारी साधनलाई सकुशल गन्तब्यमा पुर्याउन सकिन्छ । अन्यथा बिच बाटोमै दुर्घटनामा पनि पर्न सक्छ । संस्था प्रमुख हुदै गर्दा अतिथी, खादा र भाषणलाई अर्जुनदृष्टि भन्दा अलिपर राखेर संस्थाका उदेश्यका अलावा आफ्ना थप योजना अगाडी ल्याउने र त्यसलाई कार्यान्वयन तर्फ लैजान अग्रसर हुने हो भने भोलिका दिनमा संस्थाको मात्रै हैन तपाईंको कार्य क्षमताको पनि उच्च मुुल्याकंन हुने छ । चाहे त्यो परदेशमा होस वा घरदेशमा ।