ओमानीको प्रश्नः मैले किनेर ल्याएको खद्दामालाई किन दूतावासले फर्काउने ?

 

काठमाडौं, भदौ १५-

एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् । दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन । मैले किनेर ल्याएको खद्दामालाई किन पठाउने ?’ उनी भन्दै थिए, ‘उनलाई नेपाल होइन, मैले नै घर लैजान पाउनुपर्छ ।

आफूलाई ती ओमानीले कुटपिट र मानसिक यातना दिएको भन्दै दूतावास आएकी ती युवती भने फर्केर उसकै घर जाने पक्षमा थिइनन् । दूतावासले नेपाली युवतीलाई नेपाल पठाउन निकै प्रयास गरे पनि ओमानीले मान्दै मानेनन् । मैले उनलाई ल्याउन निकै दुःख गरेको छु । १८ सय रियाल (चार लाख ७८ हजार रुपैयाँ) तिरेको छु,’ खल्तीबाट झिकेर बिल देखाउँदै ती ओमानीले भने, ‘यो रकम कसले फिर्ता दिन्छ ?’

ती युवती दलालमार्फत भारत हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान पुगेकी थिइन् । त्यहाँको घरेलु कामदार बिक्री गर्ने एजेन्सीबाट ती ओमानीले उनलाई खरिद गरेर आफ्नो घर लगेका थिए । उनलाई नेपाल पठाउने भए मैले तिरेको रकम दूतावासले दिनुपर्छ,’ ओमानीले जिद्दी गरिरहे । दूतावासमा आइसकेको नेपालीलाई फिर्ता पठाउन मिल्दैन,’ ओमानीलाई सम्झाउँदै राजदूत शर्मिला पराजुलीले भनिन्, ‘नेपालबाट घरेलु कामदार ल्याउन रोकिएको छ । त्यसरी रकम तिरेर ल्याउने काम गैरकानुनी हो ।

तैपनि ओमानी मान्ने सुरमा देखिएनन् । लान नदिने हो भने यिनलाई म चोरीको मुद्दा हाल्छु, नेपाल फर्कनै दिन्नँ,’ ओमानीले धम्क्याए । र, युवतीको राहदानी फिर्ता नदिई आफ्नो बाटो लागे ।

बिल देखाउँदै आफ्ना घरेलु कामदार लिन आउनेहरू धेरै भएको दूतावासका कर्मचारी बताउँछन् । यसरी बिल देखाउँदा दूतावासलाई अप्ठ्यारो पर्ने गरेको छ । भागेर दूतावास आइपुगेका हाउसमेडलाई स्पोन्सरको सहयोगबिना पठाउन मुस्किल नै हुन्छ । उनीहरूले चोरीको मुद्दा हालिदिए झन् समस्या आइपर्छ,’ दूतावासका कर्मचारी भन्छन् । दूतावासले त्यसरी आउनेलाई सकभर सम्झाएर फर्काउने प्रयास गरिरहेको छ ।

सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि दलालमार्फत महिलाको तस्करी बढिरहेको छ । सललाहमा त झन् एक घर एक नेपाली कामदारझैं अवस्था छ । ओमानी निकायका अनुसार झन्डै ५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार छन् । ओमान पुग्ने प्रायस् सबै घरेलु कामदार यूएईबाट लगिन्छन् । त्यसरी ओमान पुग्ने र पछि नेपाल जाने भन्दै भागेर दूतावास आउने नेपालीको संख्या बढिरहेको दूतावासले जनाएको छ । 

आश्रयस्थलमा आएका ७५ जनालाई दूतावासले उद्धार गरी नेपाल पठाएको छ । अवैध बाटोबाट नेपाली ल्याउने क्रम झन् बढेपछि दूतावासले नेपाल र ओमानबीच श्रम सम्झौता नभएसम्म नेपाली महिलालाई घरेलु कामदारको भिसा नदिन पनि ओमान सरकारलाई अनुरोध गरेको छ । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढिसकेको छ । त्यो सम्झौतामा घरेलु कामदारका विषय पनि छन् । श्रम सम्झौता नभएसम्म भिसा जारी नगर्न ओमान सरकारको ध्यानाकर्षण गराइएको छ,’ राजदूत पराजुलीले भनिन् । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय