यूएई- झापाली समाज यूएईले बालबालिकाको सहयोगका लागि १० लाख अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। तीज विशेष सांस्कृतिक कार्यक्रममा चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मे बुढा), गायक टंक बुढाथोकी, गायिका सरु गौतम र डान्सर एलिसा तामाङ मुख्य आकर्षक रहे। उनीहरुलाई यूएईमा रहेका आधा दर्जन अन्य कलाकारले साथ दिएका थिए।
कार्यक्रममा एलिसा तामाङको ‘तिम्रो सम्झनामा पागल बन्न मन लाग्छ’, ‘कान्छा कान्छा आई लभ यू’ जस्ता प्रस्तुतिले दर्शकलाई सुरुमै नचाएको थियो। तामाङले झण्डै पौने घन्टा तीज गीतमा सबैलाई नचाइन्।
मञ्चमा तक्मे बुढालाई बोलाउदा हलमा खुट्टा टेक्ने ठाउँसम्म थिएन। गायक टंक बुढाथोकी स्टेज छोडेर दर्शक सँगै नाच्न पुगेका थिए। गायक बुढाथोकीलाई दर्शकले बोकेरै कार्यक्रम स्थलमा घुमाएका थिए।
गीत विशेष सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास यूएईकी श्रम सहचारी हिरा यादव र विशेष अतिथि एनआरएन यूएईका अध्यक्ष सुदीपयज्ञ कार्की रहेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालसँगै विभिन्न संघ संस्थाका प्रतिनिधि अतिथिका रुपमा उपस्थित थिए। अन्नपूर्ण पोष्टबाट