काठमाडौं- नेपालमा हरेक वर्ष करिव पाँच लाख युवाहरु नेपाली श्रम बजारमा प्रवेश गर्दछन् । तर, देशको अल्पविकसित अवस्थाको कारण ती युवाहरुलाई रोजगार दिन आवश्यकउद्योग व्यवसाय स्थापना गर्न सकेको छैन । जसको कारण रोजगारको लागि दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा रगत पसिना बगाउन वैदेशिक रोजगारमा जान बाध्य छन् । तर,वैदेशिक रोजगारमा जान पनि त्यति सजिलो छैन । विभिन्न दलाल र वैदेशिक रोजगार व्यवसायीहरुको चर्को शोषणमा परी देशको कानुनले तोकेको भन्दा निकै चर्को मूल्य भुक्तान गरी वैदेशिक रोजगारीमा जान पर्ने अवस्था विद्यमान छ जुन मूल्य चुकाउन अधिकाङ्श युवाहरुले आफ्नो पुख्र्यौली चलअचल सम्पत्ति बेचबिखन गर्न बाध्य हुन्छन् । यसका वावजुद पनि दुर्भाग्यवश कतिपय युवाले विदेशी भूमिमा कामको सिलसिलामा चर्को रोग लागेर र अङ्गभङ्ग भएर करार अवधिभन्दा अगावै आफ्नो देश फर्किनुपर्ने अवस्था हामीले देख्दै भोग्दै आएका छौँ । यस्तो अवस्थामा नेपाल फर्केपछि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आर्थिक सहयोग प्राप्त गर्न केहि आवश्यक कागजात आवश्यक पर्दछ । आवश्यक कागजात निम्नानुसार रहेका छन्ः
- वैदेशिक रोजगार प्रवर्धन बोर्डको निर्देशिका दफा–५, अनुसूची–४ अनुसारको निवेदन फाराम (बोर्डमा उपलब्ध हुने)
- श्रम स्वीकृति पत्र र वैदेशिक रोजगार विभागले पासपोर्टमा टाँसेको रोजगार अनुमति स्टिकर
- वैदेशिक रोजगारीको करारपत्र
- फर्केको हवाइ टिकट र विमानस्थलले पासपोर्टमा लगाएको मिति खुलेको आगमन स्टिकर अथवा छाप
- वैदेशिक रोजगारीमा गएको व्यक्तिको राहदानीको फोटोकपी
- वैदेशिक रोजगारीमा गएको व्यक्तिको नेपाली नागरिकताको फोटोकपी
- वैदेशिक रोजगारीमा रहँदा गन्तव्य मुलुकमा उपचार गराएको मेडिकल रिपोर्ट (रोग यकिन भएको हुनुपर्ने)
- स्वदेश फर्केपछि नेपालको सरकारी अस्पतालमा उपचार गराएको र रोग यकिन भएको मेडिकल रिपोर्ट
- वैदेशिक रोजगारीमा गएको व्यक्तिको अथवा निवेदकको पासपोर्ट साइजको फोटो एक प्रति
- घाउ, चोटपटक स्पष्ट देखिने अथवा अस्वस्थ भई उपचाररत व्यक्तिको वर्तमान अवस्था स्पष्ट झल्किने फोटो एक प्रति
