काठमाडौं,भदौ ४– नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टीङ, एयरलाइन्स मजदूर यूनियन (युनिट्राभ) को १२ औं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले सुमन प्रसाद पराजुलीको अध्यक्षतामा २४ सदस्यीय नयाँ राष्ट्रिय कमिटी गठन गरेको छ ।
अधिवेशन उद्घाटन गर्दै जिफन्ट अध्यक्ष रिमालले युनिट्राभ विस्तार हुँदै गएको यूनियन भएको भन्दै खुशी व्यक्त गरे । साहसिक पर्यटनको क्षेत्रमा काम गर्ने श्रमिकहरुको जीवन सुरक्षित हुनुपर्छ भन्ने जिफन्टको मन्यता रहेको भन्दै उल्लेख्य श्रमिकलाई सदस्य बनाउन सकेकोमा उनले युनिट्राभ नेतृत्वको प्रशंसा गरे ।
कुनै पनि श्रमिकले आफ्नो रोजगारदातालाई देख्दा नाक खुम्च्याउने र रोजगारदाताले श्रमिकलाई देख्दा मन खुम्च्याउने अवस्था आएमा त्यसले प्रगति नहुने भन्दै आपसी सहकार्य र समन्वयबाट अगाडी बढ्न जरुरी रहेको अध्यक्ष रिमालले बताए । दुवै पक्ष बढी भन्दा बढी लाभ प्राप्त होस् भन्ने चाहने भएका कारण एकले अर्कोलाई निषेध गरेर नभई सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
जनप्रतिनिधिले नै संविधान लेखेर त्यो कार्यान्वयनमा गइसकेको अवस्थामा अव विद्रोहको आवश्यकता नरहेको भन्दै अध्यक्ष रिमालले गलत काम भएमा द्रोह गर्ने अधिकार भनें श्रमिकसँग कायम रहेको बताए । सो अवशरमा उनले सामाजिक सुरक्षाको दायरामा आउने भएका कारण युनिट्राभका सदस्यहरु सुरु देखि नै यसमा सामेल हुनु जरुरी रहेको धारणा राखे ।
सो अवशरमा बोल्दै आईएलओ गभर्निङ बडीकी डेपुटी मेम्वर विन्दा पाण्डेले युनिट्राभ नुरु वाङ्छु शेर्पा, दोर्जे खत्रीहरुले बनाएको र विस्तार गरेको यूनियन भएको भन्दै यस यूनियनको गरिमा ठूलो रहेको धारणा राखिन् । यस्तो खालको यूनियन विश्वमा विरलै रहेको भन्दै पाण्डेले यसको बाटोलाई अझ फराकिलो बनाउँदै जान आवश्यक रहेको बताइन् ।
सो अवशरमा ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजाल, पर्यटन बोर्डका सदस्य रहेका पर्यटन व्यवसायी कृष्ण अर्याल लगायतले मन्तव्य राखेका थिए ।
सो अवशरमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल आरोहण गरेका १ सय जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विष्णु रिमालले खादा लगाएर तथा प्रशंसापत्र प्रदान गरेर सम्मान गरे ।
अधिवेशनले सुमन प्रसाद पराजुलीको अध्यक्षतामा २४ सदस्यीय नयाँ राष्ट्रिय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा टीका पुन, मिलन तामाङ र अम्वर तामाङ रहेका छन् । यसैगरी महासचिवमा रामबहादुर श्रेष्ठ चयन भएका छन् । उपमहासचिवमा तुलसीप्रसाद सुवेदी तथा सचिवमा फुडोमा शेर्पा र खिलानाथ दाहाल रहेका छन् । नयाँ कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई जिफन्टका महासचिव विष्णु लम्सालले सपथग्रहण गराए ।
यो पनि पढ्नुहोस्
१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै
